काठमाडौ, २७ भदौ । अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा भएको छ । अमेरिकाको न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा आतङ्ककारी हमलाको २१ औ स्मृति दिवस मनाइदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई भवनमा ठोक्काउदा, दुर्घटनामा परि झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए ।
अमेरिकी इतिहासको कालो दिन भनेर सेप्टेम्बर ११ लाई भनिन्छ । सन् २००१ को सेप्टेम्बर ११ मंगलबारको दिन आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो । अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्र्क र वासिंङ्गटनका महत्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो ।
१६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो । विस्फोटपछि टावरमा दुई घन्टासम्म आगो लागेर ११० तले दुवै भवन ढलेर खरानी भएका थिए । ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा ठोक्काएको थियो भने वासिंङ्गटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो ।
अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुदा विमान आकाशमै बिस्फोट भएको थियो । यी घटनाहरूमा १९ अपहरणकारी बाहेक २ हजार ९ सय ७७ जनाले ज्यान गुमाएका थिए । चारवटा विमानमा सवार चालकदलका सदस्य र यात्रु गरी सबै २ सय ४६ जनाको मृत्यु भएको थियो । ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २ हजार ६ सय ६ जनाको मृत्यु भएको थियो । त्यस घटनामा सबैभन्दा कम उमेरका दुई वर्षका बालक र सबैभन्दा ज्येष्ठ नागरिकमा ८२ वर्षका वृद्ध सहित विभिन्न ७७ वटा देशका नागरिकले ज्यान गुमाएका थिए ।
विश्वमै सबैभन्दा सुरक्षित मानिने अमेरिकाको प्रमुख सहर न्युयोर्क र रक्षामन्त्रालय रहेको पेन्टागनमाथि गरिएको अकल्पनीय आतंकवादी आक्रमण भएको २१ वर्ष भएको छ । करिब तीन हजार मानिसको ज्यान लिएको र छ हजारभन्दा बढीलाई घाइते बनाएको साथै अर्बौं डलरको भौतिक क्षति पु¥याएको यो आतंकवादी आक्रमण अमेरिकाकै इतिहासमा कहिल्यै नभएको र कल्पनासम्म पनि नगरिएको घटना हो । यो घटनापछि सुरु गरिएको आतंकवादविरुद्धको विश्वव्यापी अभियान अहिले पनि जारी छ । यो अभियानले आतंकवादलाई समाप्त पार्न आतंंकवादलाई संरक्षण दिने तानाशाही अतिवादी सत्ता चलाउने शासकविरुद्ध कारबाही गर्नुका साथै अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा विन लादेनलाई मार्न सफलता मिलेको छ । तर पनि आतंकवाद र आतंकवादी गतिविधि भने विभिन्न रूपमा प्रकट भएका छन् । यो भने अमेरिकाको टाउको दुखाईको विषय बनि रहेको छ । सन् २००१ को सेप्टेम्बर ११ अमेरिकाको इतिहासमा सबैभन्दा नराम्रो दिन हो । अमेरिकीहरूले यस दिनलाई कालो दिनका रूपमा स्मरण गर्ने र आतंकवादविरुद्ध लड्ने प्रण गर्ने गर्दछन् । सो आक्रमणअघिसम्म अमेरिकीहरू आफनो मुलुकमाथि कुनै पनि बाह्य आक्रमण हुन सक्दैन भन्ने गर्व गर्दथे । उनीहरू बढी विश्वस्त थिए मुलुकको सुरक्षा संयन्त्र र व्यवस्थाप्रति । तर सेप्टेबर ११ को घटनापछि उनीहरू आतंकवादीहरूप्रति बढी चिन्तित भएका छन् । उनीहरूको एउटै मात्र चाहना के छ भने अब सेप्टेम्बर ११ को जस्तो घटना यो मुलुकमा कहिल्यै पनि दोहोरिन नपाओस् ।
प्रतिक्रिया दिनुहोस्