काठमाडौं, २५ भदौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदरको जस्तो व्यवहार देखिएको टिप्पणी गर्नुभएको छ ।
बुटवलमा शनिबार पार्टी निकट प्राध्यापकहरुसंगको अन्तर्क्रियामा नेता पौडेलले गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताउनुभएको हो । ‘गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदर जस्तै देखिएका छन्’, पौडेलले भन्नुभयो, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरु एउटाले अर्कोलाई झुक्याएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ ।’आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससंग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको पौडेलले टिप्पणी गर्नुभयो ।
‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’, पौडेलले भन्नुभयो , ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरुले सगौरव लात खानुपर्छ ।’प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसंग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टी भएको बताउनुभयो ।
वैवाहिक अंगीकृत नागरिकताको हकमा सात वर्षको प्रावधान राख्नुपर्छ भन्ने एमालेको मागलाई अस्वीकार गरेर गठबन्धन सरकार राष्ट्रियताप्रति गैरजिम्मेवार बनेको पौडेलले बताउनुभयो। नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन समय सीमा नराख्ने सरकारको प्रावधानले कालान्तरमा नेपालीहरु आफ्नै देशमा अल्पमतमा पर्ने खतरा रहेको उहाँले औंल्याउनुभयो ।
‘नेपाल अर्बौं जनसंख्या भएका दुई छिमेकी देशको बीचमा छ, राष्ट्रियताप्रति गठबन्धन सरकारको असंवेदनशीलताले भविष्यमा नेपालमा नेपालीहरु नै अल्पमतमा पर्ने अवस्था नआउला भन्न सकिन्न’, पौडेलले भन्नुभयो–, ‘समय सीमा नराख्ने हो भने एकजनाले सम्बन्ध बिच्छेद गर्दै ७ जना विदेशीसंग विहे गर्नसक्छन्,यहां विवाह गराउने कम्पनी नै खुल्न सक्छन् ।
’अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम पनि एमालेको विरोधले रोकिएको दावी गर्दै पौडेलले गठबन्धनका दलहरु विदेशीसामु आत्मसमर्पण गरेर सत्ता जोगाउन तल्लीन रहेको आरोप लगाउनुभयो । नेता पौडेलले आगामी निर्वाचनमा एमालेले वहुमत नपाए राष्ट्रियता झनै संकटमा पर्ने र देश दुर्घटनामा पर्ने भन्दै एमालेको नीति र विगतमा गरेका राम्रा कामको प्रचार गरी जनमत सिर्जना गर्न प्राध्यापकहरुलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्