काठमडौं, ८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।भदौ २९ गतेभित्र महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज बस्न लागेको हो । यसअघि हिजोको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ ।
जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ । समितिले भदौ २९ गतेभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका हिजोको बैठकमा प्रस्तुत भएको थियो ।उता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ ।
२०७८ साल फागुन १ गते प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न फागुन २१ गते सिफारिस समिति गठन गरेको थियो ।समितिलाई यसबारे अध्ययन गर्न जिम्मेवारी भने साउन २२ गते दिइएको थियो । बैठक दिउँसो २ बजे बस्ने छ ।








प्रतिक्रिया दिनुहोस्