काठमाडौं, १३ साउन । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ। विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ।
प्रतिवेदनलाई अन्तिमरूप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।‘संसदीय छानविन विशेष समितिको बिहीबार अन्तिम बैठक बस्यो। प्रतिवदेन तयारी गर्ने कुरा सम्पन्न भएको छ’, उनले भने, ‘शुक्रबार समय लिएर सभामुखसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। समितिका सभापतिले प्रतिवेदन पेश गर्नुहुनेछ।’ प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए।
प्रमुख प्रतिपक्षी एमालेले समितिको निष्कर्षमा फरक मत राखेका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले समितिलाई प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने अडान राखेका छन् भने सत्ता पक्षका सांसद प्राप्त प्रमाण र बयानले शर्माविरूद्धको आरोप प्रमाणित नगर्ने भएकाले उनी निर्दोष रहेको बताएका छन्।गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गरेका थिए।








प्रतिक्रिया दिनुहोस्