काठमाडौं, ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र र देशलाई नै खतरामा पारेको बताएका छन्।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेको यो प्रणालीले देशलाई भड्खालोमा लैजाने तर्क गरे।
गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च भएको आफूले सुनेको भन्दै उनले यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने बताए।देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको दाबी गरे।
सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन नपाइने व्यवस्थाले करोडौँ खर्च गरेर सांसद हुन खोज्ने र त्यसरी जितेर पदमा पुगिसकेको पछि लगानी असुल्ने प्रवृत्ति रहेको उनले स्वीकार गरे।त्यसैले मुलुकमा भ्रष्टाचार मौलाएको उनको भनाइ छ।प्रचण्डले विचार र मुद्दा मिल्नेहरूको बीचमा सहकार्यका लागि प्रयास गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस्