काठमाडौं, १ साउन । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहर सङ्कलन गर्न थालेको छ ।महानगरले यसअघि सार्वजनिक तालिका अनुसार आज कुहिने फोहर सङ्कलन हुनेछ । महानगरले कुहिने फोहर आइतवार र बुधवार तथा नकुहिने फोहर सोमवार र शुक्रवार सङ्कलन गर्नेछ । तोकिएअनुसार नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ ।महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहर वर्गीकरण गर्न अनुरोध गरेको थियो । फोहरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुनेछ । काठमाण्डौ महानगरको वातावरण विभाग प्रमुख सरीता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले नागरिकले त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
नागरिकले सूचनालाई बेवास्ता गरेमा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने तयारी छ । पछिल्लो समय महानगरसहित काठमाण्डौ उपत्यकाका १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम जटिल बन्दै आएको छ ।
नुवाकोटको सिसडोल भरिनुका साथै त्यहाँसम्म जाने सडकमा स्थानीय बासिन्दाले पटक पटक अवरोध गर्दा समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि महानगरले नयाँ अभ्यास सुरु गरेको हो ।








प्रतिक्रिया दिनुहोस्