काठमाडौँ, ३० असार । प्रतिनिधिसभा उपसभामुखमा प्रमुख प्रतिपक्षी एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । पार्टीका तर्फबाट भट्टराईले बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
एमालेकी सचेतक शान्ता चौधरी प्रस्तावक र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।यसअघि एमालेले लोसपाको उम्मेदवारलाई समर्थन गर्ने जनाएको थियो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले सांसद चन्दा चौधरीलाई उम्मेदवार बनाउने जानकारी दिएको र उनलाई नै समर्थन गर्ने बताएका थिए ।
सत्ता गठबन्धनबाट भने कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छिन् । भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।उपसभामुखको निर्वाचन शुक्रबारका लागि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्