काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ या छैन भनेर प्रश्न गरेका छन् ।सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एक चीन नीतिप्रति प्रश्न उठाउने अवस्था बनाएको बताएका हुन् ।
गठबन्धन जोगाउने नाममा म्यादी सरकारले परराष्ट्र नीतिमा पक्षधरता लिएको आरोप लगाए । कुनै विदेशी सहायक विदेशमन्त्री आउँदा स्कटिङ दिएर गुम्बा घुमाएर छिमेकी देशको संवेदनशीलतामाथि धावा बोलेको ओलीले जिकिर गरे ।
परराष्ट्र नीतिमा सरकार चुकेको आरोप लगाएका ओलीले सन्धि सम्झौता गर्दा प्रमुख प्रतिपक्षी दललाई जानकारीसमेत सरकारले नदिएको आरोप लगाए । आफ्नै देशमा आफू जाँदा अनुमति लिएको बताउँदै उनले विदेशीमन्त्रीले अनुमति लिनुपर्दैन भन्दै प्रश्न गरे ।
‘मैले आफ्नै देशभित्र पनि इजाजत लिएर, प्रशासनसँग इजाजत लिएर म हुम्लाको दुर्गम ठाउँमा गएँ,’ उनले भने, ‘अनि विदेशीमन्त्री आएर अनुमति लिनुपर्छ कि पर्दैन रु इजाजत लिनुपर्छ भने कसरी लिनुभयो रु कसको पक्षमा इजाजत दिनुभयो ? छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन ?’
ओलीले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका हुन् । ‘हाम्रो परराष्ट्र नीतिलाई असन्तुलित, आवेगपूर्ण र गठबन्धनको सत्ता स्वार्थमा संकुचित बनाएको छ,’ ओलीले संसद बैठकमा भने ।








प्रतिक्रिया दिनुहोस्