गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार थिए । तर उनी एमालेका नीलकण्ठ गौतमसँग एक हजार ४६३ मतको फराकिलो अन्तरले पराजित भएका थिए ।
पूर्व मुख्यसचिव लीलामणि पौडेलले साथ दिएपछि ज्ञावली विजयी भएका हुन । उनै पूर्व मुख्यसचिव पौडेलले नेकपा माओवादी केन्द्रको युवा भातृ संगठनलाई प्रशिक्षण दिइरहेको भिडियो केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । पौडेलले उक्त भाषण गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा गरेका थिए ।
३२ वर्षीय ज्ञवाली यसपटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । गठबन्धनको बलमा उनले एमालेका प्रत्यासी हिमाल श्रेष्ठलाई एक हजार २७७ मतको फराकिलो अन्तरले पराजित गरे । ज्ञवालीले पाँच हजार ८१७ मत ल्याउँदा एमालेका श्रेष्ठले चार हजार ५४० मत प्राप्त गरे ।
गत निर्वाचनमा पराजयपछि उनी केही समय लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालको स्वकीय सचिव बनेर काम गरे । ‘यसबीचमा रुरुक्षेत्रमा धेरै विकास निर्माणका काम गर्ने अवसर पाएँ, जसले मलाई जनतामा परिचित गरायो,’ उनले भने, ‘यसपटक पार्टीको संगठन बलियो भएकाले निर्वाचन जितियो ।’
राजनीतिसँगै विभिन्न सामाजिक संघसंस्थामा जोडिएर विकास निर्माणका काम गर्दै आएका ज्ञवालीलाई चीनका लागि नेपाली राजदूत बनिसकेका पूर्व मुख्यसचिव पौडेलले विकासका कामदेखि कोभिड महाव्याधिमा जनताको पक्षमा काम गर्न सघाए । रुरुक्षेत्र गाउँपालिका लीलामणि पौडेलको गृहपालिका हो । पौडेल बेलाबेलामा गृहपालिका गइरहन्छन्, तर पछिल्लो समय उनको आवतजावत बाक्लो भएको थियो । माओवादी केन्द्रमा औपचारिक रूपमा प्रवेश नगरे पनि उनी पार्टीदेखि वाईसीएलसम्मको प्रशिक्षणमा सहभागी हुन थाले । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञवालीसँगै उनी पनि घरदैलो कार्यक्रममा सक्रिय भए । यसक्रममा उनले आफू मुख्यसचिव हुँदा स्थानीय स्तरमा गरेका विकास निर्माणका काम स्मरण गरेका थिए ।रुरुक्षेत्र एमाले उपमहासचिव प्रदीप ज्ञवालीको गृहपालिका पनि हो ।
पौडेल माओवादी केन्द्रमा सक्रिय भएर उपमहासचिव ज्ञवालीलाई चुनौती दिन तयार भए । पौडेल पञ्चायतकालमा राजनीतिमा सक्रिय हुँदै तत्कालीन नेकपा (माले)का उम्मेदवारलाई जिताउन सक्रिय थिए । पौडेलको सक्रियता र गठबन्धनको बलमा अन्ततः ३७ वर्षदेखि एकछत्र नेतृत्व गर्दै आएको एमालेको गढमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए ।लामो समय नेतृत्वमा रहँदा एमालेमा अहंकार र दम्भका साथै जे गरे पनि हुन्छ भन्ने भावना मौलाएको पौडेल बताउँछन् । ‘यस क्षेत्रका जनतालाई दलगत रूपमा विभेद गरियो,’ उनी भन्छन्, ‘गरिब दीनदुःखीलाई राज्यको सुविधा लिन पनि पार्टीको सदस्य हुनुपर्ने भनियो र त्यस्तै व्यवहार गरियो ।’एमालेले राज्यशक्तिको दुरुपयोग गर्दा स्थानीय जनता पीडित भएको पौडेलको निष्कर्ष छ । ‘जनता पीडित भए । बोल्ने कोही भएनन्, त्यसैले म विकल्प खोज्दै उभिन आइपुगें,’ उनी भन्छन् ।विजयसभामा बोल्दै पौडेलले भने, ‘अब यदु ज्ञवालीको सफलता असफलता मेरो प्रतिष्ठासँग जोडिन्छ । त्यसैले यहाँको सुशासन र समृद्धिका लागि मेरो ज्ञान र क्षमता लगानी गर्छु ।’
प्रतिक्रिया दिनुहोस्