ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरका कांग्रेस, जो ‘भरत’ बन्न तयार भएनन्


एबीसी / संवाददाता

काठमाडौं १७ वैशाख । सत्तारूढ दलको चुनावी गठबन्धनको केन्द्र भरतपुर महानगरपालिकामा कांग्रेसबाट स्वतन्त्र उम्मेदवार रहेका जगन्नाथ पौडेल प्रमुख चुनौती बनेका छन् । उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाए पनि पौडेलले नमानेपछि मन्त्रीद्वयको तीन दिनसम्मको प्रयास निरर्थक भयो । स्वयं कांग्रेस सभापति देउवाले पार्टीका पुराना नेता पौडेललाई आफ्नो आकांक्षा रेनु दाहालको विजयमा समर्पित गर्न निर्देशित गरेका थिए तर पार्टी र कार्यकर्ताको प्रतिष्ठा भन्दै उनले विद्रोही बाटो रोजे । शुक्रबार उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उनले भने, ‘मेरो उम्मेदवारी कांग्रेस जोगाउनका लागि हो, मलाई कारबाही गरे पनि कांग्रेस जीवन्त हुने हुँदा खुसी छु ।’
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रकी रेनु दाहाल २ सय ३ मतको अन्तरले नगरप्रमुख निर्वाचित भएकी थिइन् । उतिबेला कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार बनेका दिनेश कोइरालालाई फिर्ता गरेर दाहाललाई समर्थन गरेको थियो । यस पटक भने भरतपुरका पुराना कांग्रेस नेता एवं पूर्वसांसद पौडेल पुनः प्रमुख बन्ने दौडमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपुत्री रेनुको चुनावी यात्रामा तगारो बनेका छन् । कांग्रेसका पुराना नेताहरू पौडेलको प्रचारमा हिँडेका छन् । उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आयोजित सभामा पौडेलका प्रस्तावक एवं पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, समर्थक एवं महासमिति सदस्य मीना खरेल, पूर्वसांसद कृष्णबहादुर श्रेष्ठ, तरुण दलका संस्थापक अध्यक्ष शम्भु अर्याललगायत सहभागी थिए ।
पूर्वसांसद श्रेष्ठले बाहिर खुल्न नसके पनि सबै कांग्रेसीको समर्थन पौडेललाई रहेको दाबी गरे । ‘कांग्रेसको केन्द्रले कारबाही गरे पनि हामी निर्वाचनबाट उम्मेदवारीको औचित्य पुष्टि गर्नेछौं,’ उनले भने । पौडेलका प्रस्ताव रहेका ८४ वर्षीय सापकोटाले चुनावमा हुने तडकभडक र अनावश्यक खर्चलाई निरुत्साहित गर्दै आदर्श चुनाव लड्ने बताए । ‘सच्चा कांग्रेसलाई हिजो राणाले कारबाही गरे, राजाले पनि ३० वर्षसम्म कारबाही गरे,’ उनले भने, ‘अहिले हामीलाई कारबाही गर्ने भनिएको छ, त्यो त हाम्रा लागि पुरस्कार हो ।’

करिब ५ वर्ष भरतपुर महानगरको कमान्ड सम्हालेकी दाहालको दोस्रो कार्यकालका लागि सबैभन्दा ठूलो चुनौती यही हो । चितवन कांग्रेसले आफ्नो बलियो पकड भएको भरतपुरमा यस पटक पनि नेतृत्वमा दाबी गरेको थियो तर छोरीलाई पुनः उठाउने माओवादी अध्यक्ष दाहालको चाहनासामु कांग्रेस टिक्न सकेन । यसले स्थानीयस्तरमा चरम असन्तुष्टि जन्माएको छ । पौडेलको पक्षमा खुल्न नसके पनि असन्तुष्टि मत्थर हुन सकेको छैन । ‘यस पटक कांग्रेसकै नेता स्वतन्त्र उम्मेदवार बनेपछि के गर्ने भन्ने दोधारमा छौं,’ जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने, ‘एकातिर पार्टी केन्द्रले हामीमाथि निरन्तर अन्याय गरेको छ, अर्कोतिर यसकै परिणामस्वरूप हाम्रै मान्छे अर्को चुनाव चिह्नबाट चुनाव लड्दै छन् ।’ कांग्रेसीहरू भरतपुरसँग गर्व गर्नलायक इतिहास जोडिएको बताउँछन् । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले २०७० को संविधानसभा निर्वाचनमा गृह जिल्ला बाँकेका साथै हालको चितवन–३ बाट उम्मेदवारी दिएका थिए । कोइराला चितवन आउनुको प्रमुख कारण थियो– जित्ने सुनिश्चितता । कोइरालाले माओवादीका चित्रबहादुर श्रेष्ठलाई दोब्बर मतान्तरले पछि पारेका थिए । माडी नगरपालिकाका साथै भरतपुरका २९ मध्ये २२ वडा समेटिएको उक्त निर्वाचन क्षेत्रमात्र होइन, सिंगो भरतपुर महानगर कांग्रेसको राम्रो जनमत भएको क्षेत्र हो । त्यसैले २०७४ को स्थानीय निर्वाचनमै कांग्रेसले दिनेश कोइरालालाई नगरप्रमुखमा अघि सारेको थियो तर देउवाले हस्तक्षेप गरेर उम्मेदवारी फिर्ता गराएका थिए । ‘कांग्रेसको यति राम्रो जनाधार भएको ठाउँमा तारन्तार माओवादीलाई प्रमुख दिँदा कांग्रेसकै इतिहासको अपमान भएको छ,’ सापकोटाले भने, ‘त्यही इतिहास पुनर्जीवित गर्न अहिले पौडेलजीलाई अघि सारेका छौं ।’

दाहालले आफ्नो संसदीय राजनीतिलाई सुरक्षित बनाउन पनि यसपटक पनि छोरीलाई अघि सारेको चर्चा स्थानीयस्तरमा हुने गरेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट चितवन–३ बाट विजयी भएका दाहाल आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट लड्ने तयारीमा छन् । विगतमा रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लडेका दाहालले आफ्नो ‘खास’ निर्वाचन क्षेत्र बनाउन सकेका छैनन् । यसका लागि भरतपुरका २२ वडा समेटिएको गृहजिल्ला चितवनको क्षेत्र ३ सबैभन्दा उपयुक्त क्षेत्र हो । ‘अघिल्लो स्थानीय तह निर्वाचनमा रेनुजीले मेयरमा जित्दा यस क्षेत्रमा पार्टीको अवस्था पहिलेभन्दा सुध्रिएको छ,’ माओवादीका एक नेताले भने, ‘यसपटक पनि जिताउन सक्ने हो भने महानगर र संसदीय निर्वाचन क्षेत्रलाई पछिसम्म पकडमा राख्न सकिन्छ ।’

छोरी नगरप्रमुख र आफू सांसद निर्वाचित भएपछि दाहालले पछिल्लो पाँच वर्ष भरतपुर महानगरमा पूर्वाधारका लागि प्रशस्त बजेट व्यवस्थापन गरेका छन् । गत निर्वाचनमा प्रमुखमा लड्दा रेनुले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धतापत्रमा उल्लेखित अधिकांश सामाजिक तथा आर्थिक मुद्दा अलपत्र परे पनि पूर्वाधारमा भने देखिने गरी काम भएको छ । ‘बाबु–छोरीले जितेपछि भरतपुरमा काम नभएको होइन, विकासका सन्दर्भमा गुनासो गर्ने ठाउँ छैन,’ भरतपुर–८ का हेमराज घिमिरेले भने, ‘तर राजनीतिमा परिवारवाद हावी हुनु राम्रो भएन ।’

नगरप्रमुखमा उम्मेदवारी दिएका पौडेलसहितका कांग्रेसीहरू भने माओवादीको बढ्दो प्रभावबाट चिन्तित छन् । कांग्रेसको गढमा १०–१० वर्षसम्म कार्यकर्ताले रूखमा भोट हाल्न नपाउँदा कांग्रेस कमजोर हुने र यसले माओवादी बलियो हुने उनीहरूको तर्क छ । सुशील कोइराला लड्ने बेलाजस्तो अहिले कांग्रेसको अवस्था मजबुत नभएको उनीहरूको भनाइ छ । ‘हामीले यही कारण पहिल्यैदेखि मेयरमा दाबी गरिरहेका थियौं तर पार्टीले हाम्रो कुरा सुनेन,’ कांग्रेसका ती जिल्ला पदाधिकारीले भने, ‘गठबन्धन भन्ने कुरा क्षणिक समयका लागि हो तर हामीले पार्टीको भविष्यका लागि सधैंभरि अर्को पार्टीलाई भोट हाल्ने थिति बसाल्नु राम्रो हुँदैन ।’

पौडेलको उम्मेदवारी फिर्ता गराउनमै व्यस्त रहँदा सत्ता गठबन्धनले भरतपुरमा चुनावी अभियान अघि बढाउन सकेको छैन । माओवादी केन्द्र र कांग्रेसले बिहीबार संयुक्त कार्यालय खोले पनि घरदैलो अभियान सुरु गरेका छैनन् । शुक्रबार बिहान भरतपुर नगरपालिका–१० मा घरदैलो अभियानमा एक्लै भेटिएका गठबन्धनतर्फबाट कांग्रेसका उपप्रमुख उम्मेदवार चित्रसेन अधिकारीले स्वतन्त्र उम्मेदवारीको कारण चुनावी मुद्दा र एजेन्डा तय गर्ने काम हुन नसकेको बताए । नगरप्रमुखदेखि वडाध्यक्षसम्म गठबन्धन दलभित्रै बागी उम्मेदवार हुँदा चुनौती कायमै रहेको उनले बताए ।

माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले पनि बागी उम्मेदवारीको कारण समयमै प्रतिबद्धतापत्र सार्वजनिक गर्न नसकिएको बताए । ‘हाम्रो सम्पूर्ण शक्ति पौडेल ९जगनाथ० जीलाई फकाउनमै खर्च भयो, त्यसैले चुनावी अभियानलाई गति दिन सकिएन,’ उनले भने । एमालेले भने शुक्रबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै चुनावी अभियान तीव्र पारेको छ । ‘सुन्दर र समृद्ध भरतपुर’ नारासहितको प्रतिबद्धतापत्रमा पूर्वाधार तथा भौतिक विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, विद्युतीकरणजस्ता विषय समेटिएका छन् । प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुरलाई समृद्ध र भरतपुरवासीलाई सुखी बनाउने अभियानसहित प्रतिस्पर्धामा उत्रिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com