काठमाडौं २८ असार ।
नयाँ शक्ति पार्टी, नेपालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय तुरुन्त खारेज गर्नुपर्नेमा मागसहित सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा सिंहदरबार पुगेर नयाँ शक्ति नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई १३ बुदें ज्ञापन पत्र बुझाउदै यस्तो माग गरको हो ।
बूढीगण्डकी परियोजनाका सम्बन्धमा चिनियाँ कम्पनीसँग भएको समझदारी गैरकानुनी र राष्ट्रिय स्वाभिमानविपरीत रहेको नयाँ शक्तिको ठहर छ ।
नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको निर्माणका लागि अन्तराष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य सुरु गर्न माग गरेको छ ।
आयोजना नेपाल सरकारको लगानी, मुलुकभित्रका बैंकहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणको शेयर र आवश्यक पर्ने भएमा अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा पाउने ऋण समेत लिएर नेपालीद्वारा नै निर्माण गर्न माग गरेको छ । आयोजना स्वदेशी लगानीमै बनाउन सकिनेमा नयाँ शक्तिको जोड रहेको भट्टराइले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण, पुर्नस्थापना लगायतका माग पनि समेटिएको छ । १ हजार २ सय मेगावाटको बुढीगण्डकी आयोजना पुष्पकमल दाहाल प्रचण्ड सरकारले चीनको विवादास्पद गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई निर्माण जिम्मा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्