हेटौंडा, राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ । राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरू, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरू, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरूले प्रतिनिधिमुलुक भेलाले महाधिवेशनको विषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निश्कर्ष निकालेका छन् ।
हेटौंडामा आयोजित भेलामा पार्टीको बिचार सिद्धान्त प्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टी बिरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेका छन् । उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ ।
पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ । पार्टीलाई एकताबद्ध गरेर बिचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारीले दिए । यसले राप्रपाका नेताहरू एकजुट भएर पार्टीको विधि र परिधिभित्र रहेर अघि बढ्ने संकेत दिएको छ ।







प्रतिक्रिया दिनुहोस्