काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गरेको छ ।सरकारले आज मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । पेट्रोल, डिजेल, मट्टितेल, ग्यास,हवाई इन्धनमा मूल्यवृद्धि गरिएको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको विज्ञप्ति मार्फत जनाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने उल्लेख गर्दै उक्त मूल्यवृद्धि फिर्ता गर्न सरकारसंग माग गरिएको छ ।
त्यस्तै, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशव्यापी विरोध प्रदर्शनदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गर्नुभएको हो । जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको भन्दै विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धि विरुद्ध सशक्त प्रतिरोध गर्ने जनाएको छ ।
जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न नेकपाले सरकारसँग अपिल गरेको छ । मूल्य वृद्धिविरुद्ध नेकपाले २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते सिठ्ठी जुलुस र सा“झ मसाल जुलुस निकाल्ने तथा ३० गते नेपाल बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्