काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाव दिनु भयो । गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख समेत व्यक्त गर्नु भयो ।
उहाँले सरकारले अझै पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण समेत गराउनु भयो । उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गर्नु भयो । उहाँले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताउनु भयो । काँग्रेस नेता अर्जुननरसिंह केसीले हिँसालाई त्यागेर मात्रै गान्धीले देखाउनु भएको अहिंसाको बाटोमा अघि बढन सकिने स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस्