काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल विस्तारलाई लिएर भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री देउवाले यसअघि नै सत्तासाझेदार दलहरूसंग मन्त्री बन्नेहरुको नाम दिन माग गर्नुभएको थियो । सत्ता गठबन्धनभित्र कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५/५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ । दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसंगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो ।
प्रधानमन्त्री देउवाले भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । उहाले आज बेलुकासम्ममा आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आग्रह गर्नु भएको छ । माओवादी केन्द्रले आज अबेरसम्ममा स्थायी कमिटी बैठकमार्फत मन्त्रीको नाम टुंगाउने तयारी गरेको छ । यता नेकपा एकीकृत समाजवादीले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा पठाउने नाम लगभग टुंगो लगाएको छ ।
एकीकृत समाजवादीबाट सरकारमा जाने अन्य नेतामा रामकुमारी झा“क्री, मेटमणी चौधरी, प्रेम आले र जीवनराम श्रेष्ठ छन् । तर अर्को सत्तासाझेदार घटक जनता समाजवादी पार्टीले भने मन्त्रालयको भागवण्डा नटुंगिएको भन्दै मन्त्री बन्नेहरुको नामावली तय गरेको छैन । सम्भवतः भोलि नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डा टुंग्याउने छ ।
प्रतिक्रिया दिनुहोस्