काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूह नेताहरुले विभिन्न ३ प्रस्तावमाथि सुझाव दिएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न एमालेले १० वटा समूह गठन गरेको थियो ।
उक्त समूहका टोली नेताले आफ्नो समूहको छलफलको निष्कर्ष तथा सुझाव आजको बैठकमा प्रस्तुत गरेका हुन । प्रस्तुतिमा अधिकांश टोली नेताले उपाध्यक्ष संख्या बढाउनु पर्ने, केन्द्रीय समितिको संख्या बढाउनुपर्ने, पार्टीलाई नेकपा एमालेको निरन्तरताको रूपमा बुझ्नुपर्ने र त्यही अनुसार प्रतिवेदन तयार गर्न सुझाव दिएका छन् । यस्तै उनीहरूले पदाधिकारी दुईभन्दा बढी पटक हुन नहुने र कार्यकारी पदमा दुई पटकभन्दा बढी राख्न नमिल्ने गरी बनाउनुपर्ने सुझाव दिएका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको तर्फबाट दलबहादुर राना, केन्द्रीय विभागको तर्फबाट खगराज अधिकारी र प्रदेश १ बाट हिक्मत कार्की र बागमती प्रदेशबाट आनन्द पोखरेलले सुझाव दिनुभएको छ ।
दलबहादुर रानाले पदाधिकारी दुई पटकभन्दा बढी बस्न नपाउने र कार्यकारी पदमा पनि दुई पटकभन्दा बढी बस्न नपाउने प्रावधान बनाउन सुझाव दिनुभएको थियो । आफ्नो समूहको छलफलको निष्कर्ष प्रस्तुत गर्दै रानाले उपाध्यक्ष संख्या बढाउनु पर्ने र केन्द्रीय कमिटी पनि २२५ भन्दा बढी बनाए राम्रो हुने बताउनुभयो । यस्तै, अर्का टोली नेता आनन्द पोखरेलले ७० वर्षको प्रावधान हटाउनुपर्ने माग भएता पनि अहिलेकै प्रावधान राख्दा पनि केही फरक नपर्ने बताउनुभयो । यद्यपि उहांले सरकार भने पार्टीको नीति अनुसार चल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अर्का टोलीनेता खगराज अधिकारीले उपाध्यक्ष सात जना हुनुपर्ने सुझाव दिनुभयो । उहांले एमसिसीबारे स्पष्ट धारणा बनाएर पार्टी एकमत भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्