काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न फैसला दिने न्यायाधीशहरूलाई सरकारले पदक दिएर पुरस्कृत गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
एमालेद्वारा आइतबार च्यासलमा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै नेता नेम्बाङले यस्तो आरोप लगाउनु भएको हो । एमाले फुटाउन भूमिका खेल्ने र फैसला सुनाउने न्यायाधीशलाई समेत सरकारी मानपदवी–अलंकार प्रदान गरिनुलाई नेम्वाङले अर्थपूर्ण भन्नुभयो । ‘ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरु, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरु पक्षहरुले महत्वपूर्ण मेडल पाउनुभयो भन्दै नेम्वाङले त्यस्तो पदक अस्वीकार गर्न आग्रह गर्नुभयो । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक दिने घोषणा गरेको छ । त्यसैगरी दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा शेरबहादुर देउवाले हालेको रिटमाथि बहस गर्ने वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव, बद्रीबहादुर कार्की, हरिहर दाहाल, मिथिलेश सिंह, रमण श्रेष्ठ, गोविन्द बन्दी, पदम रोक्का र दिनेश त्रिपाठीलाई सुकीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ ।
राष्ट्रपतिबाट बाडिएको पदकले देश कतातिर अघि बढिरहेको भन्दै नेम्बाङले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैलाई विश्वस्त बनाउदै थप प्रतिवद्धता जनाउनुपर्नेमा उल्टो पुरस्कार घोषणा गरेको टिप्पणी गर्नुभयो । नेम्बाङले आफनै पूर्व सहकर्मी झलनाथ खनालप्रति व्यङ्ग्य गर्दै दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको बताउनुभयो । विभूषित हुने सूचीमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका पिता स्वर्गीय मंगलप्साद उपाध्याय पनि नेम्बाङको कटाक्षबाट बचेनन् । एमाले फुटाउन नेपालमै सक्रिय दुईजनाका परिवारले पनि मेडल पाउनुभए । कसैले मरणोपरान्त पाउनुभएछ’, नेम्बाङले भन्नुभयो, ’ओली सरकारविरुद्ध मुद्दा लगाउनेले पनि मेडल पाएछन्। मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनु भएछ ।
अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ । मुद्दामा फैसला गर्ने न्यायाधीशले पनि मेडल पाउनुभएछ ।’ नेम्बाङले न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न आग्रह गर्नुभयो । यस्तो सन्देश जान दिनुहुँदैन। यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस’, उहाले भन्नुभयो, ’अस्वीकार गरिदिएको घोषणा गरिदिनुस्।’
प्रतिक्रिया दिनुहोस्