काठमाडौं, १९ पुस । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमपछि कांग्रेसको प्रस्तावबारे सञ्चारकर्मीहरुले राखेको प्रश्नमा उनले गठवन्धन भन्दा बाहिर गएर प्रधानमन्त्रि नहुने बताएका हुन ।
कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका बेला उनी भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् ।
वाम गठबन्धन र पार्टी एकता गर्ने संकल्पका साथ चुनावमा गएको र जनताले त्यसलाई अनुमोदन गरेको भन्दै उनले भने, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।’
उनले एमाले र माओवादीबीच पार्टी एकतामा कुनै अप्ठ्यारो नभएको पनि बताए । प्राविधिक कारणले मात्र केही दिन यता छलफल रोकिएको भन्दै उनले आज भोली नै बैठक बस्ने बताए ।
प्रचण्डले पार्टी अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादी नेताहरुको अभिव्यक्तिको पनि खण्डन गरे । पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ दुबै नेता कार्यकारी भूमिका हुनुपर्छ भन्ने विवाद नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्