काठमान्डौ १० भदौ:
जापानले मोडेर्ना कम्पनीद्वारा निर्मित १० लाख ६० हजार मात्रा खोप प्रयोगमा बन्देज लगाएको छ। खोपमा प्रदूषित तत्व फेला परेको भन्दै जापानले सो खोप प्रयोगमा ल्याउन रोकेको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार ५ लाख ६० हजार भाइल खोपका केही मात्रामा प्रदूषित ‘ तत्वहरु’ देखा परेका छन्।
जापानमा खोपको बिक्री तथा वितरण गरिरहेको टाकेदा फर्मास्यूटिकलले मोर्डनाले सावधानीका साथमा खोपका तीनवटा व्याच रोकिरहेको बताएको छ। आजसम्म सुरक्षा र प्रभावकारिताको विषयमा कुनै कुरा नउठेको भन्दै मोडेर्नाले यसबारे खोप नियामक निकाय र टाकेदासँग मिलेर अनुसन्धान थाल्ने बताएको छ।
खोपमा प्रदुषित तत्व फेला परेको बताइए पनि के हो भन्नेबारे विस्तृतमा खुलाइएको छैन। टाकेदाले आपतकालिन परीक्षणका क्रममा केही कण भेटिएको बताएको थियो।
जापन टाइम्स पत्रिकाकाअनुसार अन्य सात खोप केन्द्रमा पनि ३९ भाइल अर्थात ३९० डोज खोप प्रदूषित भेटिएका थिए। जापानको स्वास्थ्य मन्त्रालयले खोपमाथि प्रतिबन्ध लगाउनुअघि यो खोप लिएका नागरिकको सूची प्रकाशित गर्दै स्वास्थ्य जाँच गर्न पनि अनुरोध गरेको छ।
जापान महामारीको एक कठिन अवस्थासँग जुधिरहेको छ। जापानका अन्य आठ प्रान्तहरुलाई बुधबारमात्रै आपतकालिन स्थितिमा राखिएको छ। जापानको राजधानी टोकियोले हाल प्याराओलम्पिक खेलको आयोजना गरिरहेको छ।
जापानले फाइजर र एस्ट्राजेनेका खोपलाई मान्यता दिइसकेको छ भने मोर्डनालाई गत ‘मे’ महिनामा प्रयोग अनुमति दिएको थियो।
जापानका ४० प्रतिशतले नागरिकले खोपको पूरै मात्रा लगाइसकेका छन् भने ५० प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन्।
प्रतिक्रिया दिनुहोस्