काठमाडौं, २६ असार । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको आजको बैठक अझै शुरु हुन सकेको छैन । बैठक बस्ने तयारी भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु कोटेश्वर पुग्नुभएको छ ।
सिंहदरवारस्थित अर्थमन्त्रालयमा दिउँसो २ः३० बजेका लागि बैठक तय भएको भएपनि केही विषयमा सहमति गर्न नेता नेपालको सहमति आवश्यक भएको भन्दै सो पक्षका सदस्यहरु नेता नेपालसँग परामर्श गर्न कोटेश्वर जानुभएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
आजको बैठकमा कार्यदलका सदस्यले सहमतिको दस्तावेजलाई मोटामोटी टुङ्गो लगाउने तयारी गर्नुभएको थियो । नेता नेपाल पक्षका कार्यदलका सदस्यहरु एक घण्टाको समय माग गरेर कोटेश्वर हिड्नु भएपछि अध्यक्ष ओली पक्षका कार्यदलका सदस्यहरु उहाँहरुलाई पर्खेर बस्नुभएको छ । “हामी गृहकार्य गर्दै सिंहदरवारमा पर्खेर बसेका छौं, उहाँहरु परामर्शपछि बैठकमा आउँछौं भन्नुभएको छ” नेता नेम्वाङले भन्नुभयो ।
कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका सदस्यहरुले सर्वोच्चमा पेश भएको हस्ताक्षर फिर्ताको प्रस्ताव राख्नु भएपछि सो विषयमा आफूहरु निर्णय लिन नसक्ने भन्दै नेपाल पक्षका सदस्यहरु थप परामर्श गर्न नेपाल निवास पुग्नुभएको हो । उहाँहरुबीच अहिले नेपाल निवासमा छलफल जारी छ ।
कार्यदलले विवादित विषयमा सहमति गरी साझा दस्तावेज तयार गरेपछि अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपालसँग बसेर अन्तिम रुप दिने तयारी गरेको छ । हिजो बसेको कार्यदलको बैठकले सहमतिको दस्तावेज मस्यौदा गरेको बताएको थियो । आज मध्यान्ह वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेपाल निवासमा भेटघाट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्