काठमाडौं, १४ असार । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको छ । सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा पुगेर छलफल गर्नुभएको छ ।
पौडेल र सिटौलालाई कोइरालाले आफ्नो निवासमा खाना खान बोलाउनुभएको हो । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको कोइराला निकट एक नेताले बताउनुभयो । कोइरालाले आफू सभापातिमा उठ्ने बताउँदै आउनुभएको छ भने वरिष्ठ नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा ब्यक्त गर्नुभएको छ ।
कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले भने नेतृत्वका बारेमा मौन बस्नुभएको छ । कांग्रेसभित्र उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भावी नेतृत्व सर्वसम्मत चयन गर्ने भन्दै छलफल गर्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्