काठमाडौं, १० असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती र कमी–कमजोरी सच्याएर आए केपी ओलीलाई स्वागत गर्नुपर्ने बताउनुभएको छ । बिहीवार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताउनुभएको हो ।‘मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरि कोर्स करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी’, उहाँले भन्नुभयो ।
नेता नेपालले आफूहरू देश र नागरिकको हितका निम्ति दृढताका साथ अगाडि बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफूहरूको चिन्ता र चासो देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो ।नेता नेपालले भन्नुभयो – ‘देशको हितका लागि, जनताको हितका लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडि बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधीनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ ।’
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिनिधि सभा विघटनमा विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रूपमा फेरबदल भएको उहाँको आरोप छ । प्रतिनिधि सभा विघटनविरुद्धको कदममा २०६२/०६३ को जनआन्दोलनका सहयात्री दलहरू एक हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्