काठमाडौं, ९ असार । विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले प्रतिगमनविरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।
बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू उपस्थित हुनुभएको थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका बैठकमा सामाजिक दुरी कायम गरी विरोध कार्यक्रम गर्नेबारे सैद्धान्तिक छलफल भएको छ ।
संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत विहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको खड्काले जानकारी दिनुभयो । दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको उहाँको भनाइ छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयका विरुद्धमा कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन खड्काले बताउनुभयो । उहाँले भन्नुभयो स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर हामीले विरोध कार्यक्रम निरन्तर गर्छौ । बाढी पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने छ ।
गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिँदै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय भएको बताउनुभयो । यस्तै विपक्षी गठबन्धनले विहीबार सम्पादकसँगको अन्तक्रिया कार्यक्रम पनि गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्