काठमाडौं, ८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति उठ्न सक्रियता बढाउनुभएको छ । निधिले सोमबार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निवासमै र प्रभावशाली मानिएका युवा नेताहरूसँग बत्तिसपुतलीमा अपरान्ह संवाद गर्दै थप सक्रियता बढाउनुभएको हो ।
गुरूराज घिमिरे, धनराज गुरूङ, चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, जीवन परियार, दीपक गिरी, सरिता प्रसाईं, प्रदीप पौडेललगायत नेतासँग उपसभापति निधिले भेटेर महाधिवेशनबारे छलफल गर्नुभएको छ । गत शनिबार सभापति शेरबहादुर देउवासँग भेटेर निधिले आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गर्नुभएको थियो ।
तर देउवाले एक कार्यकाल अझै आफैँ सभापति उठ्ने जवाफ दिएपछि निधिले पनि आफ्नो तर्फबाट थप सक्रियता बढाउनुभएको हो । महाधिवेशनसम्मै सहकार्य गरेर जाने विषयमा नेताहरूसँग छलफल भएको निधिको सचिवालय स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्