पर्सा, ७ असार । पर्साको वीरगंजमा नेपाली सेनाका एक सिपाहीले आत्महत्याको प्रयास गरेका छन । त्यहाँस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक सिपाहीले आत्महत्याको प्रयास गरेका हुन ।ती सिपाहीले आफैले बोकेको M16 राइफलबाट आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ।
घटना विवरण अनुसार गएराती साढे ८ बजेको समयमा पर्सा, पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका २२ वर्षीय श्यामबाबु प्रसाद चौहानले ब्यारेकभित्रै पोस्टमा ड्युटीमा खटिएका बेला यो घटना भएको हो।अचानक गोली पड्केको अवाज सुनेर सेनाका अन्य सिपाहीहरु गएर हेर्दा चौहानले चिउँडो मुनिबाट आफैले आफैलाई गोली प्रहार गरेको भेटिएको थियो । उनको चिउँडो मुनि लागेको गोली आँखाभन्दा केही तलबाट निस्किएको थियो ।
घटनालगत्तै घाइते भएका सिपाही चौहानलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरि नेसनल मेडिकल कलेज वीरगंजमा लगिएको प्रहरीले जनाएको छ । रक्त श्राव धेरै भएको छैन, मुख, दाँत र नाकमा घाउ छ, अवस्था गम्भीर नै छ अस्पताल स्रोतले जनाएको छ । सिपाही चौहानले आफैले आफैलाई किन गोली हाने ? यस्तो अवस्था कसरी आयो ? लगायतका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्