काठमाडौं, ३१ जेठ । विपक्षी गठवन्धनका प्रमुख तीन नेताले संविधान र लोकतन्त्रको रक्षार्थ भएको सहकार्यमा आपसी अविश्वास उत्पन्न हुन नदिने निर्णय लिएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठकले प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने निश्चय गरेको छ । बैठकमा नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित हुनुभएको थियो । ‘यो गठबन्धन संविधान, लोकतन्त्र र जनताको सवाल सम्बोधन गर्न बनेको हो ।
गठबन्धनलाई अझ दह्रो बनाउने, आपसमा अविश्वास बढाउन हुनसक्ने चलखेलप्रति सचेत रहने र ओली सरकारको असंवैधानिक कदमको विरुद्ध दृढ रहने निर्णय भएको महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो । महामन्त्री खड्काले सबै प्रदेशमा विपक्षी गठबन्धनको कार्यगत एकता कायम रहने भन्दै त्यसलाई भत्काउन हुनसक्ने प्रयत्नप्रति सचेत रहनेबारे छलफल भएको समेत बताउनुभयो । गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन रहेका विषयलाई सरकारले विभिन्न माध्यमबाट प्रभावित गर्न खोजेको भन्दै आपत्तिसमेत जनाएको छ । निर्वाचन आयोग लगायतका संवैधानिक निकायको कामबारे प्रश्न गर्दै गठबन्धनले संवैधानिक निकायले सरकारको स्वार्थअनुसार काम गरेको ठहर समेत गरेको छ ।
‘संवैधानिक अंगहरुलाई प्रभावमा पार्न सत्ताको दुरुपयोग भइरहेको छ, त्यसलाई दृढतापूर्व प्रतिवाद गर्नेछौं । स्वतन्त्र न्यायापालिकाको भूमिकामाथि विभिन्न ढंगले प्रहार गर्न खोजिएकोप्रति हाम्रो ध्यानाकर्ष भएको छ’, खड्काले भन्नुभयो । बैठकले जनतालाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार असफल भइसकेको र निषेधाज्ञाले मारमा परेको विपन्न वर्गप्रति सरकार उदासीन भएको ठहर समेत गरेको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक जेठ सात गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपालसहितको गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएको छ । त्यसपछि गठबन्धनका नेताहरुबीच निरन्तर भेटवार्ता हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्