काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा लागू गरेको एक महिना बितिसक्दा पनि संक्रमण दर नियन्त्रणमा आउन नसकेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हारहारीमा अझै संक्रमित भेटिएका छन् । दैनिक संक्रमण यति भेटिनु जोखिमकै अवस्था हो । निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी रुपमा पालना गर्नुपर्ने उहाँको सुझाव छ ।
मन्त्रालयले निषेधाज्ञालाई अझै कडाइ गर्नुपर्ने र तत्काल खुकुलो गर्दा संक्रमण पुनः बढ्ने सुझाव दिएपछि काठमाडौंका तीनै प्रमुख जिल्ला अधिकारी खुकुलो बनाउने निर्णयबाट पछि हटेका थिए । निषेधाज्ञामा आवागमन ६० देखि ७० प्रतिशत मात्र घटेको जनाइएको छ ।
यसैबीच, मन्त्रालयले ग्रामिण क्षेत्रमा पर्याप्त भाइरस संक्रमणको परीक्षण हुन नसकेको समेत बताएको छ । प्रवक्ता पौडेलले ग्रामिण क्षेत्रमा परीक्षण हुन बाँकी रहेको समेत बताउनुभयो । बुधबारदेखि सरकारले पीसीआर परीक्षण पनि घटाएको छ । मृत्युदर नघट्नु तथा संक्रमण घट्नुले संक्रमणको जोखिमकै बीच निषेधाज्ञा हटाउन लागिएको हो कि भन्ने आशंका छ । प्रवक्ता पौडेलले लक्षण भएका व्यक्ति परीक्षण गर्न नगएको र परीक्षण केन्द्रसम्म जान निषेधाज्ञाले समस्या भएकाले त्यसो भएको हुनसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्