काठमाडौं, ८ जेठ । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरु भेला हुने कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत उक्त कदमको बिरोध गरेका छन । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १ :४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको जानकारी गराउनुभएको थियो । त्यसअघि संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्रीको लागि परेका दुईवटा दाबीलाई राष्ट्रपति भण्डारीले अस्वीकार गर्नुभएको थियो । दलीय हस्ताक्षर बुझाएका प्रधानमन्त्री केपी शर्मा ओली र सांसद्हरुको हस्ताक्षर बुझाएका शेरबहादुर देउवाको दाबीलाई उहाँले अस्वीकृत गनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्