काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गर्नुभएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक गरिएको छ। अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ। अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा राखिएको छ।
केन्द्रीय अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार अध्यादेश जारी गर्नुभएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो ।
अध्यादेशमा सजायको व्यवस्था समेत रहेको छ। कसैले अध्यादेश बमोजिमको कुनै काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। यस्तै अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ।
यस्तो हुन्छ स्वास्थ्य संकटकालमा
आपतकाल लगाएको अवस्थामा सरकारले आवश्यकताअनुसार स्वास्थ्य संस्थाहरु नियन्त्रणमा लिएर सञ्चालन गर्नरगराउन सक्ने भनिएको छ । साथै, जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड–१९ को निदान र उपचारमा लगाउन सक्ने पनि भनिएको छ ।
सरकार, प्रदेश र स्थानीय तह वा प्रचलित कानून बमोजिम स्थापना भएका शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड, संस्थान, सरकारी स्वामित्वको कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारीसाधन, भवन संरचना वा अन्य भौतिक साधनलाई कोरोनामा भाइरसको रोकथाम, नियन्त्रण, निदान र उपचारमा लगाउन सक्ने पनि भनिएको छ ।
आवश्यकताअनुसार सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी स्वामित्वमा रहेको जग्गा, भवन, संरचना र सवारीसाधनको अभिलेखन राखेर प्रयोग गर्न सक्ने पनि भनिएको छ ।
आपतकाल घोषणा भए वा संक्रमणका कारण जोखिम देखिए सरकारले मानिसको आवतजावत, हवाई, स्थल तथा अन्य यातायात साधन सञ्चालन बन्द गर्न सक्ने प्रावधान पनि अध्यादेशमा राखिएको छ ।
साथै, मानिस वा सवारीसाधनको आवागमन हुने वा भीडभाड हुने अन्य क्रियाकलापहरुलाई पनि निषेध गर्न सक्ने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्