काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने र रचनात्मक समर्थन रहने बताउनुभएको छ । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले अन्य दलहरुले वैकल्पिक सरकार बनाएमा आफूले स्वागत गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार। म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ।’
उहाँले यदि दलहरूले वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि आग्रह गर्नुभएको छ । यस्तै उहाँले सहमतिको राष्ट्रिय सरकार बनाउन आग्रहसमेत गर्नुभएको छ । उहाँले कोभिड–१९ विरुद्ध लड्न सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्ने भए पनि आफू तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको हो । ‘आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई फोन गरेर मैले तपाईंहरू सरकार बनाउनुस् भनेको थिएँ। नभए मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेको थिएँ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्