काठमाडौ, १० पुस । बर्दिया १ बाट वामपन्थी गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमको पराजयका अनेकन कारण खुल्न थालेका छन् । पार्टी स्थायी कमिटी बैठकको एजेण्डा बनिसकेको गौतमको पराजयमा अन्तरघात सहायक तर वामदेवकै कमजोरी मुख्य कारण देखिएको छानविन कमिटीहरुको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
गौतमको पराजयलगत्तै ५ नम्बर प्रदेश संयोजक बिष्णु पौडेलले केन्द्रीय सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए । जिल्लामा अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अलग्गै समिति गठन भएको छ । दुवै छानविन समितिले बुझाएको प्रारम्भिक रिपोर्टमा अन्तरघात सहायक कारण भएको जनाइएको छ ।
चुनावपछि शुक्रवार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूलाई हराउन बर्दिया १ का निवर्तमान सांसद श्याम ढकालसहित ८र९ जना नेताहरुको हात रहेको भन्दै अन्तरघातीको सूची बुझाएका थिए । गौतमले आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापा पनि लागेको मौखिक आरोप लगाएका थिए ।
गौतमको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित भन्दै यसको कारण खोज्न ५ नम्बर संयोजक बिष्णु पौडेललाई आग्रह गरेपछि छानविन अघि बढेको हो । बैजनाथ चौधरीले संयोजक पौडेललाई बुझाएको प्रारम्भिक रिपोर्टमा केही नेताले अन्तर्घात गरेको तर अन्तरघातकै कारण मात्र वामदेव पराजित नभएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।
बामदेवले किन हारे कारणहरु
जनतासँग सम्बन्धविच्छेद
०४८ सालदेखि लगातार बर्दिया १ बाट चुनाव लडेका र तीनपटक जितेका गौतमले केही काम नगरेको भन्दै जनतामा व्यापक असन्तुष्टि थियो । तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा कसैले जागिर नपाएकोदेखि विकास निर्माणका काम नभएको र वामदेवसँग जनताले भेट्नै नपाउने गरेको गुनासो कार्यकर्तामा व्यापक भेटियो ।
यसैवीच ०७० को चुनावमा प्युठान र बर्दिया दुवै ठाउँबाट जितेपछि गौतमले प्युठानलाई रोज्दै अब म बर्दिया फर्किन्न भनेर सो क्षेत्र छाडे । गौतमले छाडेको सो क्षेत्रमा उपचुनावमा एमालेका श्याम ढकालले जिते । तर, यसपटक गौतम पुनः चुनाव लड्न प्युठान छाडेर बर्दिया नै गएपछि त्यहाँ धेरै समस्या देखियो । मान्छेले उनका भाषण र आश्वासन पटक्कै रुचाएनन् ।
वामदेव काठमाडौंबाट पुगेको टोली लिएर धूलो उडाउँदै हिँड्ने गर्थे, तर स्थानीय जनता र कार्यकर्तासँग उनले सम्बन्ध नै नराखेको गुनासो कार्यकर्ताहरुबाट आयो ।
‘गलगाँड’ को मस्ति, स्थानीय नेतालाई सास्ती
वामदेवले बर्दिया १ बाट उम्मेदवारी मनोनयन गरेपछि पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज गौरा प्रसाई कोइराला र अध्यक्ष हरि ज्ञवालीले निर्वाचन परिचालन कमिटी गठनको प्रस्ताव राखेका थिए । तर, गौतमको परिचालन कमिटी काठमाडौंबाटै गठन भएर आयो ।
एमालेभित्र केशवलाल श्रेष्ठ, हरि पराजुली, डीबी कार्की, शारदा सुवेदी, बलराम बास्कोटालगायतको एउटा टीम छ, जसलाई वामदेव गौतमका दुःख भन्ने गरिन्छ । उनीहरुलाई कतिपय एमाले नेताहरुले ‘वामदेवका गलगाँड’ भन्छन् । एक नेताका अनुसार कुनै पनि जनमत नभएका, विभिन्न काण्डमा बद्नामी कमाएका र पार्टीभित्र तथा बाहिर कुनै पकड नभएका व्यक्तिहरु नै वामदेवको किचन क्याबिनेटमा छन् ।
यसपटक बर्दियामा पनि वामदेवको चुनाव हाँक्ने हाइकमाण्ड यिनैले सम्हाले । जिल्ला इञ्चार्ज गौरा प्रसाईलाई आन्तरिक बैठकमा समेत बोलाइएन । जिल्ला अध्यक्ष ज्ञवालीलाई गुलरिया नगरको चुनाव परिचालन संयोजकमा सीमित गरियो । र, कृषि मन्त्री हँुदा रोपाहार महिलालाई हात हालेका कारण राजीनामा दिन बाध्य भएका हरि पराजुलीदेखि जोगीसँग मिलेर अनेक काण्डमा मुछिएका डीबी कार्यहरु वामदेवका सारथी बने ।
निवर्तमान सांसद श्याम ढकाललाई वडामा पठाइयो भने अरु स्थानीय प्रभावशाली नेताहरुलाई कुनै भूमिका दिइएन, जसले बर्दियामा कसैलाई चिन्दैनन्, उनीहरु हाइकमाण्ड सम्हाल्दै २०\३० वटा गाडीमा धूलो उडाउँदै हिँडे । तर, उनीहरुले भोट घटाउने बाहेक एक भोट पनि बढाउने काममा योगदान गरेनन् ।
छानविन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा वामदेव पराजयको मुख्य कारण यही ‘रेडिमेट हाइकमाण्ड’ लाई देखाइएको छ । यो हाइकमाण्डले जिल्लाका नेता-कार्यकर्तालाई भूमिका नदिने र वामदेवलाई २८ हजार मतान्तरले जितिन्छ भन्दै ढुक्क पार्ने काम गरेको छानविन समितिले जनाएको छ ।
थारु र मधेसविरोधी छवि
वामदेव गौतम वाम एकताको पक्षधर भए पनि मधेसी र थारुको सवालमा निकै अनुदार नेता मानिन्छन्, सो समुदायको बुझाइमा । यसपालिको पराजयमा उनको थारु र मधेसविरोधी छविले पनि काम गरेको पाइएको छ ।
वामदेव गौतमविरुद्ध रेमशलाल चौधरीको समूह एक वर्षदेखि सक्रिय थियो । थरुहट आन्दोलनका बेला गृहमन्त्री रहेका गौतमले दमन गरेको र नेपालको इतिहासमा मधेस र थरुहट भन्ने भूमि नै थिएन भनेर भाषण गरेको विषयलाई तलसम्म प्रचारमा लगियो । एमाले नेता गौतमले एकताका पार्टीको केन्द्रीय बैठकमा ‘मधेस’ भन्ने शब्दमै आपत्ति जनाएपछि रघुवीर महासेठले उनलाई सम्झाएका थिए । गौतमको यो धारणाबारे स्थानीय तहमा थारु र जनजातिले ‘नोट’ गरेका रहेछन् ।
आन्तरिक छानविन कमिटी स्रोतका अनुसार बर्दियामा मधेसी मतदाता खासै धेरै नभए पनि त्यहाँ रहेको कम्तिमा १० देखि १२ हजार थारु मत वामदेवकै कारण वाम गठबन्धनबाट कांग्रेसतिर लाग्यो ।
माओवादीका अधिकांश मताधार भएका क्षेत्र थारु बाहुल्य थिए, जहाँबाट वामदेवलाई मत कम आयो । र, यसलाई ‘माओवादी बिकेको’ भनिए पनि त्यो भन्दा बढीचाहिँ गौतमको थारुविरोधी छविले बढी भूमिका खेलेको एमालेका स्थानीय नेताहरुको दाबी छ ।
अट्याच बाथरुम र भकारीले डुबायो
चुनावी भाषण गर्ने क्रममा उत्तेजित हुने र ब्रहृमाण्डमै बहुदलीय जनवाद लागू गर्छौं भन्न पछि नपर्ने वामदेवलाई आफ्नै भाषणले पनि डुबाएको पाइएको छ ।
गौतमले चुनावका क्रममा हरेकलाई अट्याच बाथरुमसहितको पक्की घर र एक घरमा दुई रोजगारी अनि जग्गा सरकारीकरण गरेर घर-घरमा भकारी भरी धान दिने बताएका थिए ।
वामदेवको यो भाषण यति हावादारी सावित भयो कि मान्छेले वामदेवलाई नचिनेका थिएनन् । २५ वर्षदेखि यहीँबाट राजनीति गरेर पनि केही नगरेको आरोप लागेका वामदेवले प्रधानमन्त्री बनेर यसो गर्छुभन्दा कसैले पत्याएनन् । उल्टै हाम्रो जग्गा सरकारीकरण गर्ने भयो भनेर कांग्रेसले प्रचार गरे । र, उनलाई आफ्नै भाषणले डुबायो ।
त्यसो त वामदेवले मिडिया म्यानेज पनि गर्न सकेनन् । खासमा गौतम एमालेभित्र मिडिया प्रmेण्ड्ली नेताका रुपमा चिनिँदैनन् । कैंयो पत्रकारले अन्तरवार्ता लिन खोज्दा पनि उनी मिडियाबाट तर्केर हिँडे, जसले गर्दा उनको पक्षमा जनमत बढ्न सकेन ।
अन्तर्घात पनि जिम्मेवार
वामदेवको पराजयमा अन्तर्घात पनि एउटा सहायक कारण देखिएको छ । गौतम र बिष्णु पौडेलले स्थानीय तहको चुनावकै बेला त्यहाँका लोकप्रिय युवा नेता खड्गबहादुर खड्कालाई प्रदेशसभाको उम्मेदवार बनाउने भनेर मेयरको दाबी झिक्न लगाइएका रहेछन् ।
यसपटक अन्तिम घडीमा वामदेवले प्रदेशमा खड्कालाई टिकट नदिई कविराम थारुलाई दिए । खड्गले वामदेवविरुद्ध बागी उम्मेवारी दिए । सबैको दबावपछि उनले बागी उम्मेदवारी त फिर्ता लिए, तर खड्का र उनका समर्थकहरु वामदेवको प्रचारमा हिँडेनन् ।
पार्टीका स्थानीय नेता कार्यकर्तालाई वामदेवसँग सम्पर्कमै जान नदिन काठमाडौंबाट आएको ‘रेडिमेट हाइकमाण्ड’ ले पनि भूमिका खेल्यो । कार्यकर्ताको असन्तुष्टिलाई मिलाउनेतिर गौतमले कुनै प्रयास गरेनन् ।
सबै स्रोत साधन हाइकमाण्डको हातमा थियो । स्थानीय तहमा एमाले र माओवादीको मत जोड्दा २८ हजारको फरक थियो । त्यसैले वामदेवको हाइकमाण्डले स्थानीय नेता-कार्यकर्तालाई बाइपास गर्यो । कार्यकर्ताहरु औपचारिकताका लागि खटिए पनि भित्रीरुपमा वामदेवलाई जिताउनैपर्छ भनेर लागेनन् ।
छानविन समितिले जिल्ला कमिटी सदस्यसम्मका करिव एक दर्जन नेताहरुलाई कारवाहीको सिफारिस गरेको स्रोतले जनाएको छ । उनीहरुमाथि वामदेव हराउन भूमिका खेलेको आरोप छ ।
अन्तरघातमा केन्द्रका सूर्य थापा, ईश्वर पोखरेलको समेत भूमिका रहेको वामदेव पक्षका नेताहरुले बताउने गरे पनि छानविन समितिले तल्लो कमिटीका कार्यकर्ताको मात्रै कमजोरी औंल्याएको छ ।वामदेवलाई बढी विश्वास दिलाउने मान्छेले आफ्नो कमजोरी लुकाउन भनेको कुरा हो हामीमाथिको अन्तरघातको आरोप । श्याम ढकाल वामदेव गौतमको २८ हजार भोट खान सक्ने मान्छे हो के २८ हजार भोट मेरा हातमा थिए
प्रतिक्रिया दिनुहोस्