कालिकोट, ८ पुस । प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सफल भएको भन्दै शुक्रवार विहान जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । टिका लगाउदै हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू तलब र भत्ता कम भएको गुनासो गर्न दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास ग¥यो । झडपक्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु नै भयो ।
निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीको ज्यान गएको हो । टाउकोमा गोली लागेका उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए । निर्वाचनमा खटिएबापतको भत्ता माग्न गएका ऐडी आफूलाई अबिर लगाएर बिदा गर्ने प्रहरीकै हातबाट मारिए । उनको ज्यान गएपछि सदरमुकाम मान्म तनावग्रस्त बनेको छ । झडपमा अन्य दुई जना म्यादी प्रहरी घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनापछि म्यादीले मान्ममा रहेका प्रहरीका दुईवटा बिट तोडफोड र आगजनी गरे भने प्रहरीले हवाईफायर र अ श्रुग्यास प्रहार गरेर तिनलाई धपाउने प्रयास गरेको थियो । डीएसपी सुवासचन्द्र बोहोराले भने, ‘हामीले उनिहरुलाई भर्ना भए लगतै तलब–भत्ताको बारेमा सबै स्पष्ट पारेका थियौं । बिहान खुसी हुँदै अबिर लगाएर बिदा भएका हुन् तर दिउँसो एकाएक प्रहरी कार्यालय घेर्न आए, दुखद् घटना हुन पुग्यो ।’ सरकारले तोकेको सबै रकम र सुविधा उपलब्ध गराएको उनको दाबी छ । तर म्यादी प्रहरीले भने जुम्लाको तुलनामा आफूहरूलाई कम भत्ता दिइएको र आफूहरूले पाउनेभन्दा कम रकम दिइएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।
आफ्नो माग पूरा नभएसम्म र सहकर्मीको हत्या गर्ने प्रहरीलाई कारबाही नगरिएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन् ।
प्रहरीले ज्यादति गरेको भन्दै स्थानीय बासिन्दाले पनि कडा विरोध जनाएका छन् । उनीहरूले घटनाको छानबिन गर्न माग गरिरहेका छन् । म्यादी प्रहरीले भत्ता कम दिइएको गुनासो गरे पनि प्रहरीले तोकिएकै रकम दिइएको जनाएको छ । प्रहरीका अनुसार म्यादीले पाउनुपर्ने तलब, पोसाकभत्ता र रासन खर्च गरी ५८ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको छ । पहिलो किस्ता २३ हजार पहिले नै खातामा जम्मा भएको र दोस्रो किस्ताअन्तर्गत ३५ हजार तीन सय पनि खातामा जम्मा हुने प्रहरीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले भने म्यादीले एकाएक ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको जनाएको छ । म्यादीको गोलीले नभई ढुंगाले लागेर मृत्यु भएको हुनसक्ने प्रशासनको दाबी छ । यद्यपि जिल्ला अस्पतालले पोस्टमार्टम गरेपछि मात्र यसको पुष्टि हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्