ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने


एबीसी / संवाददाता

काठमाडौँ, ६ वैशाख :
धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो ।
मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सकिने छ । यही वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ ।
सम्पदा विज्ञ मानन्धरका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो ।
निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ । समग्ररुपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको छ । धरहरा पुनःनिर्माणका योजना प्रबन्धक श्याम श्रेष्ठका अनुसार आफूहरुले प्राधिकरणसँग थप २१ महीनाको समय माग गरेको तर आठ महीना मात्रै थपिएको छ । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किल रहेको बताइएको छ ।
“धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्यकरण र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ”, प्रबन्धक श्रेष्ठले भन्नुभयो । रमन कन्सट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा रु तीन अर्ब ४८ करोड लाग्ने बताइएको छ । निर्माणका लागि अहिलेसम्ममा रु दुई अर्ब १० करोड सकिएको बताइन्छ ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ । त्यसमा दुई लिफ्ट पनि छन् । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिने व्यवस्था गरिने छ । बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश रहनेछ ।
धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतका सुविधा हुने छन् । गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइसकिएको छ । पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।
बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ । पुरातात्विक हिसाबले महत्व बोकेका काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।
धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।
विगतको ११ तले धरहरा विसं १९९० सालको भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो । ऐतिहासिक धरोहर धरहरा विसं १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको हो । गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागको प्राङ्गणमा सारिएको हुलाक सेवा विभागका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिनुभयो ।
गोश्वारा हुलाक ५० वर्षअघिदेखि सुन्धाराबाट सञ्चालित थियो । हुलाक भवन भएका ठाउँमा धरहराको तीनतले अण्डरग्राउण्ड पार्किङ बन्नेछ । हुलाकसँगै धरहरामा जोडिएको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार विभाग पनि विस्थापन भएको छ । टक्सार विभागलाई बबरमहलमै वन विभागसँगै सारिएको छ ।
कर्मचारी सञ्चय कोष पहिलेकै स्थानमा रहेको छ भने त्यहाँ रहेको ढुङ्गे धारालाई थप संरक्षण गर्ने तयारीअनुरुप काम भइरहेको म्यानेजर श्रेष्ठको भनाइ छ । ऐतिहासिक ढुङ्गेधारा भएकाले त्यस धारामा निरन्तर पानी बग्ने व्यवस्था गर्न लागिएको छ । निरन्तररुपमा पानी बग्ने बनाइएपछि उक्त धाराबाट बगेको पानीका लागि ढलको व्यवस्था गरी त्रिपुरेश्वरमा निकास दिने तयारी छ । (रासस)
–––
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com