काठमाडौं, २५ माघ । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ । हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।
हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर हराइरहेका छन् ।
यस नदी आसपासका गाउँका मानिसहरुलाई त्यहाँबाट अन्यत्रै सारिँदै गरेको बीबीसीले जनाएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ लाग्नुभएको बताइएको छ । उहाँले ट्वीट गर्दै अफवाह नफैलाउन ध्यान दिँदै पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ । यस घटनामा के–कति क्षति भयो भन्नेबारेमा यकिन भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्