काठमाडौं, १८ पुस । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा वडा तह सम्म परेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन्। पछिल्लो समय पार्टी भित्रको विवाद बढ्दै जाँदा प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन्। जिल्ला कमिटीका अध्यक्षमध्ये धनकुटाका राजेन्द्र राई कतै खुल्नु भएको छैन । एक जिल्ला अध्यक्षले भने पार्टी विभाजनबाट विरक्तिएर राजनीतिबाटै सन्यास लिने घोषणा समेत गर्नु भएको छ । ओलीनिकट रहेका धादिङका नेत्र पौडेलले विभाजनबाट विरक्तिएर त्यस्तो घोषणा गर्नुभएको छ।
जिल्ला सचिवमध्ये प्रचण्ड–नेपाल पक्षमा ६३ जना खुलेका छन् भने ओलीतर्फ १२ जना देखिएका छन्। जिल्ला सचिवमध्ये एकजना (महोत्तरीका सौकलाल यादव) तटस्थ छन् भने रौतहट जिल्ला कमिटीमा अहिले सचिव पद रिक्त छ। एकताको समयमा पूर्वएमाले र पूर्व माओवादीबीच क्रमशः ४४ र ३३ जिल्ला अध्यक्षको भागबण्डा गरिएको थियो। त्यतिबेला माधव नेपाल पक्षका अध्यक्ष रहेका जिल्लाको अध्यक्ष पद माओवादीलाई दिइएको र आफ्नो भागमा सचिव पारिएको आरोप नेपाल पक्षले लगाएको थियो। त्यही कारण अहिले प्रचण्ड–नेपाल पक्षमा अत्यधिक सचिव छन्। अहिले आफ्नो कित्ता स्पष्ट नगरेका कतिपय स्थानीय नेताहरुले चुनाव चिन्ह सूर्य र नेकपा नाम जुन पक्षले पाउँछ त्यतै लाग्ने बताउने गरेका छन्।







प्रतिक्रिया दिनुहोस्