ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज


एबीसी न्यूज

वासिङटन, २१ कात्तिक ।  अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहनु भएको छ ।

अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल हुनुभएको छ । मतगणना तत्काल रोक्न माग गर्दै उहाँले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाउनु भएको हो ।

बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उहाँका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् ।

ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको हो ।

उहाँले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।

जोर्जिआमा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो ।
मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा पहुँचको माग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए ।

ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ । प्रमाण नदिइएको सो मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र ३,००० भन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् ।

पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुई वटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनु हुनेछ । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखा परिरहेको छ ।

अमेरिकामा अहिले मतगणना र मुद्धामामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।

प्रतिस्पर्धामा रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गर्दै आउनु भएको छ भने अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले संयमित हुन सवैलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपछि उहाँका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलो पटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाक मार्फत गरिएको मतदान एकतर्फी भएको दावी गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ । मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिनुभयो ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताउनु भएको थियो ।

अन्तिम नतिजा आउनै लाग्दा उहाँले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।

अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

“लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ,” उहाँले भन्नुभयो, “तर प्रक्रियाले काम गरिरहेको छ ।” प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन भन्ने हेरौँ ।”

मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा “कुनै शङ्का नरहेको” पनि बाइडेनले बताउनु भएको छ ।

त्यस बाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने संभावना कम हुने गरेको छ ।

नेपाली समय अनुसार मंगलबार राती अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मत गणना शुरु भई परिणाम सार्वजनिक हुन थालेको हो ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com