रत्ननगर चितवन, २३ असार । चितवनको भरतपुर र रत्ननगर नगरपालिकाको बीच सडकमा पर्ने टिकौली जङ्गलको जैविकमार्गमा वन र वन्यजन्तुको सुरक्षा गर्न आजदेखि ‘संरक्षणका लागि एक मिनेट’ अभियान शुरु भएको छ ।
गाडीको ठक्करबाट वन्यजन्तु मर्ने क्रम बढेपछि वन्यजन्तुको जोखिम कम गर्न अभियान शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँले आजदेखि साउन १ गतेसम्म प्रचारात्मक कार्यक्रम गरेर सवारी चालकलाई जानकारी दिइने र साउन १ गतेपछि अटेर गरेमा जरिवाना सहितको कारबाही गरिने जानकारी दिनुभयो ।
आज बिहान चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय चितवन, राष्ट्रिय प्रकृति संरक्षण कोष, स्थानीय सामुदायिक वन, प्रहरी तथा नेपाली सेनाको सहभागितामा सो कार्यक्रम गरिएको हो । “हामीले आजदेखि सवारी चालकलाई पर्चा दिने, जानकारी गराउने, जैविक मार्गको महत्व र विशेषताबारे बताउने काम शुरु गरेका छौँ”, निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले भन्नुभयो, “अब गाडी रोकेमा, जथाभावी फोहर फालेमा तथा अवाञ्छित गतिविधि गरेमा साउन १ बाटै कारबाही गर्छौं भनेर चेतना दिइरहेका छौँ ।”
पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर र भरतपुरको बीचमा वन्यजन्तु आवतजावत हुने जैविक मार्ग ९कोरिडोर० छ । करिब ७ किमी क्षेत्रको जङ्गल अति संवेदनशील क्षेत्र हो । यहाँ वन्यजन्तुले बाटो काटेर हिँड्ने भएकाले सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम बढेपछि यो अभियान शुरु गरिएको हो ।
जिल्ला वन कार्यालयको तथ्याङ्कमा अघिल्लो वर्ष सो क्षेत्रमा १३ वटा वन्यजन्तु आक्रमणका घटना भए पनि तीनवटा मात्रै गाडीलाई कारबाही गरिएको थियो । अरू गाडी फरार भए । सिसी क्यामेरा राखिए पनि त्यसको भरपुर प्रयोग नहुँदा समस्या भएपछि अहिले सो क्षेत्रको निगरानी बढाइएको हो ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले अब साउन १ बाटै लागू हुनेगरी गाडीलाई रु एक हजारसम्म जरिवानसहित कारबाही थाल्न जङ्गलमा अस्थायी सुरक्षा पोष्ट नै स्थापना गरिएको र पोष्टमा सेना, संरक्षणकर्मी सशस्त्र वनरक्षक परिचालन गर्ने उहाँको भनाइ छ । राससमा समाचार आए पनि निकुञ्जले उक्त अभियान चलाएको हो । रासस
प्रतिक्रिया दिनुहोस्