ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूरा हुँदै मेलम्ची सपना, सुरुङमा पानी भर्न थालियो : वाग्मती नदीमा पानीको बहाव बढ्नसक्नेभन्दै मन्त्रालयको आग्रह


एबीसी न्यूज

काठमाडौं, २१ असार । तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई महिनापछि काठमाडौँवासीको धारामा पानी पु¥याउने प्रतिबद्धता जनाएको छ ।

आयोजनाले आजदेखि कूल २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्नेछ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्नेछ । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय रहेको छ ।

आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । “मेलम्चीको पानी अझै डेढ वर्ष आउँदेन, काम नै सकिएको छैन, सरकारले पटकपटक ढाँटिरहेको छ भन्ने जस्ता जनमानसमा उठिरहेको आरोपकोसमेत अब खण्डन भएको छ”, मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बीना मगर, सचिव माधव बेल्वासे र आयोजना प्रमुख तिरेशप्रसाद खत्रीलगायतले एकै स्वरमा भन्नुभयो, “लामो प्रतिक्षाको घडी अब सकिएको छ ।”

सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ । आयोजनाको सुरुङमा आज बिहान ९।४५ बजेदेखि प्रतिसेकेण्ड २६० लिटर पानी पठाइएको छ । “सुरुङमार्गमा पानी पथान्तर गरिएसँगै मेलम्चीबारे दशकौँदेखि रहेका हाम्रा आशङ्का र अन्योलको मात्र अन्त्य भएको छैन, हामी सम्पूर्ण नेपालीमा गौरवको अनुभूति गराएको छ”, आयोजना प्रमुख खत्रीले भन्नुभयो, “आयोजना सम्पन्न भएको यस ऐतिहासिक अवसरमा हामी सम्बद्ध सबैलाई आभार व्यक्त गर्दछौँ ।”

काठमाडौँ उपत्यकाको जनसङ्ख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएको थियो । सरकारले २०२९ सालदेखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालेकामा २०४१ सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो ।

विसं २०४९ को तुलनात्मक अध्ययनबाट आर्थिक र प्राविधिकरुपमा उत्तम विकल्पका रुपमा मेलम्ची, याङ्ग्री र लार्के नदीबाट दैनिक कूल ५१ करोड लिटर ९प्रत्येकबाट १७ करोड लिटर० पानी काठमाडौँ उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको थियो ।

प्रवेशमार्गलगायतका पूर्वाधार निर्माणका प्रारम्भिक कार्य तथा आयोजनाको विस्तृत डिजाइन सम्पन्न भएसँगै २०६६ सालदेखि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौँ उपत्यकाको सुन्दरीजलसम्म पानी प्रवाह गर्न करिब २७।५ किमी सुरुङ निर्माण कार्यका लागि चाइना रेल्वे १५ ब्युरो समूहसँग ठेक्का सम्झौता गरिएको थियो ।

सो निर्माण व्यवसायीले सन्तोषजनक काम नगरेपछि २०७० सालमा ठेक्का सम्झौता रद्द गरी इटालियन कम्पनी सिएमसीसँग ठेक्का सम्झौता गरियो । सो ठेकेदार कम्पनीले सुरुङ निर्माण सम्पन्न गरे पनि २०७५ पुस १ देखि एकतर्फीरुपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नुपरेको थियो । सोही कारण आयोजना सम्पन्न गर्न थप ढिलाइ हुन गएको थियो ।

सुरुङको बाँकी काम एक वर्षभित्रमा सम्पन्न गर्न आयोजनाले द्रुत प्रक्रियामार्फत चिनियाँ कम्पनी सिनो हाइड्रोसँग २०७६ असोज १२ मा सम्झौता गरेको थियो । बाँधस्थल निर्माणका लागि १५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको थियो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारणले नेपालले सामना गर्नुपरेको चुनौतीलाई सामना गर्दै सरकारले आयोजनाको कामलाई निरन्तर अगाडि बढाइरहेको र सोही कारण आफूहरु सफल भएको आयोजना प्रमुख खत्रीको भनाइ छ ।

आयोजनाले तत्कालका लागि वैकल्पिक संरचनामार्फत नै पानी ल्याउने तयारी गरेको छ । सम्झौताअनुसार बाँधस्थल निर्माणको काम हाल ६६ प्रतिशत बढी सम्पन्न भएको छ । स्थायी बाँध यसै वर्षभित्र सम्पन्न हुनेछ । सरकारले आगामी आवको बजेटमा नै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यअनुसार नै काम भएको र आयोजना सम्पन्न भई राजधानीवासीको धारामा पानी आउने दिन नजिकिएको खानेपानी मन्त्रालयका सचिव बेल्वासेको भनाइ छ ।

विभिन्न समस्या र चुनौतीको सामाना गर्दै काठमाडौँवासीको तीनदशकभन्दा लामो ब्यग्र प्रतिक्षालाई सम्बोधन गर्ने चरणमा आफूहरु पुगेको जानकारी दिँदै सचिव बेलवासेले भन्नुभयो, “सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको छ ।”

सुरुङ परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी आयोजनाले सम्पन्न गरिसकेको छ । शुरुमा परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको छ । सुरुङको सुरक्षा तथा सञ्चालनका लागि प्रचलित अन्तरराष्ट्रिय मापदण्डअनुरुप पानी प्रवाह गरिने र सोहीअनुसार पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिनेछ ।

पानी भरिएकै दरमा सुरुङ खाली गरी सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकताअनुसार तिनको समाधान गरिने आयोजनाको भनाइ छ । सो कार्य सम्पन्न भएपछि नियमितरुपमा पानी पथान्तरण गरी काठमाडौँ उपत्यकाको वितरण प्रणालीका लागि उपलब्ध हुनेछ ।

पानी पथान्तरण शुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्र साथै वाग्मती नदीमा कुनैपनि बेला पानीको बहाव बढ्नसक्ने भएकाले नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

सो अवसरमा मन्त्री मगरले अनेकौँ हण्डर, ठक्करको सामना गर्दै आयोजना सम्पन्न हुने चरणमा पुगेको र राजधानीवासीको सपना साकार गराउन पाउँदा आफूलाई हर्षित बनाएको बताउनुभयो । मन्त्री मगरले भन्नुभयो, “धेरै मानिसले आयोजनाका बारेमा अनेक खालका टिप्पणी गरेका थिए, एउटा दन्त्यकथा जस्तो बनाइएको थियो, आज हामी सगौरव भन्न सक्छौँ, अब आयोजना सकियो ।” उहाँले थुप्रै निराशा, थकित प्रतिक्षाको घडी सकिएको भन्दै राष्ट्रिय जिम्मेवारी पूरा हुने दिन आउँदा आफू असाध्यै खुशी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आवश्यक तयारी पूरा गर्दै आयोजना उद्घाटनका लागि हामी प्रतिक्षारत छौँ । त्यो दिनपछि छिट्टै आउनेछ । कुनै प्राविधिक जटिलता नआएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा छिटो पूरा हुने आयोजनाका रुपमा मेलम्ची खानेपानी आयोजना दर्ज हुने देखिएको छ ।

आयोजनामा एशियाली विकास बैंकले कूल लागतको झण्डै ८० प्रतिशत र नेपाल सरकारले २० प्रतिशत लगानी गरेको छ । आयोजनाको कूल लागत रु २७ अर्ब ७६ करोड रहेको छ । सरकारले सोही आयोजनाको दोस्रो खण्ड शुरु गर्नका लागि आगामी आवको बजेटमा रु पाँच अर्ब ४६ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com