ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा विवाद : एकता जोगाउन पहल


एबीसी न्यूज

काठमाडौं, १८ असार ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास भइरहेको छ ।

पछिल्ला घटनाक्रमका बीच आज बसेको सो पार्टीको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको समन्वय अभावमा एकता गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन भन्ने चिन्ता देखिएकाले एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न आह्वान गरिएको छ ।

आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टेलिफोन कुराकानीमा अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएपछि अध्यक्ष प्रचण्डले अधिवेशन आजै अन्त्य गराउन नहुनेमा जोड दिनुभएको थियो ।

स्थायी कमिटीको बैठक शुरु भई अघिल्ला दिन चल्दै आएका विषयवस्तुमा अमृतकुमार बोहरा र केशव बडालले धारणा राखेपछि मन्त्रिपरिषद् बैठक हुने समय भएकाले सो बैठकमा मन्त्री रहेका स्थायी कमिटीका सदस्यहरु जानुभएको थियो । केहीबेरमै मन्त्रिपरिषद् सम्पन्न भई संसद्को चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी आएपछि बैठकमा सो विषय उठेपछि छलफल अघि बढ्न सकेन । स्थायी कमिटी बैठक रोकेर प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल छलफलमा जुट्नुभयो । त्यहीबीचमा अध्यक्ष प्रचण्डले सचिवालय सदस्य र अन्य सदस्यका बीचमा सामूहिक र व्यक्तिगत छलफल गर्नुभएको थियो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने हो कि भन्ने चर्चा चलेको सन्दर्भमा अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर स्थितिका बारेमा जानकारी गराउनुभएको थियो । सो अवधिमा स्थायी कमिटीको बैठक पुनः बस्ने हो/होइन भन्ने अन्योलमा सदस्यहरु परेका थिए भने सञ्चारकर्मीहरु कुनै नयाँ वा महत्वपूर्ण समाचारको प्रतीक्षामा भेला भएका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षबीच बिहानको समझदारीविपरीत मन्त्रिपरिषद्को बैठक भएको र संसद् अधिवेशनको अन्त्यको विषय तथा अध्यादेश ल्याउने तयारीका सम्बन्धमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश ल्याउने योजना नरहेको सुनाउनुभएको थियो । शीतल निवासबाट फर्केपछि दिउँसो ४ः३० बजे भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले ती विषयमा जानकारी गराउँदै अर्को बैठक यही असार २० गतेका लागि तोक्नुभयो । कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली आजको पार्टीको बैठकमा उपस्थित हुनुभएको थिएन ।

प्रवक्ता श्रेष्ठले पत्रकारसँग भन्नुभयो, “यस्तो नहनुपर्ने हो । यसले गर्दा पार्टी एकता नै गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन रु भन्ने चिन्ता पैदा भएकाले पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ तुल्याउनुपर्छ भन्ने स्थायी कमिटीका सदस्यहरुको जोड रहेको छ ।”

पार्टी एकताका सङ्कट भनेको के हो ? भन्ने प्रश्नमा उहाँको जवाफ थियो, “समाचारको सबै भाषा मैले नै मिलाइदिनुपर्ने ? सङ्कट भनेपछि बुझ्नुस् न । पार्टीलाई यो सङ्कटबाट बचाउनुपर्छ । हामी सबैले प्रयत्न गर्नुपर्छ ।” उहाँले नेताहरुबीच अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि शुक्रबारका बैठक नराखी शनिबार ११ बजे तोकिएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग गरिएको विषयमा सोधिएको जिज्ञाशामा प्रवक्ता श्रेष्ठले बैठकमा विभिन्न कोणबाट पार्टी र सरकारलाई सफल बनाउने, देशलाई अस्थिरतातर्फ लान नदिने विषयमा छलफल जारी रहेकाले निष्कर्ष आएपछि मात्रै भन्न सकिने स्पष्ट गर्नुभयो ।

स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी नेतृत्वसँग छलफल नगरी संसद्को अधिवेशन अन्त्य गराइनु गलत भएको र आपसी विवादका कारण पार्टी फुटको सङ्घारमा पुगेकाले एकता बचाउन प्रयास भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको बैठक असार २२ गते बोलाएको छ तर आजै अधिवेशन अन्त्य हुनु जननिर्वाचित सांसदहरुको अवमूल्यन हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई राष्ट्रियसभामा लाने यसअघिको निर्णय पनि कार्यान्वयन गर्नुभएन । यस्ता शैलीका कारण समस्या उत्पन्न हुँदै आएको हो ।” तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको थियो ।

यही असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरूको भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यही असार १४ गते जननेता मदन भण्डारीको जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले सरकार हटाउन भारतका संयन्त्र सक्रिय रहेको अभिव्यक्ति दिनुभएको थियो ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com