रौतहट, १५ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन ६ दिन बाँकी रहदा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
निर्वाचनको समयमा कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले भारतसँग सीमा जोडिएको रौतहटमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारी साधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ ।
सशस्त्र सीमा सुरक्षा बल, रौतहटले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा संयुक्त गस्ती शुरु गरेको छ ।
निर्वाचनका समयमा खुल्ला सिमानाका कारण अपराधिक क्रियाकलापहरु बढ्न सक्ने भन्दै संयुक्त रुपमा गस्ती बढाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए ।
नेपाल भारत सुरक्षा अधिकारीहरुबीच भएको छलफलका आधारमा निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्र कडाइ गरिएको उनले बताए ।
नेपाल–भारत सुरक्षा अधिकारीहरुबीच भएको वार्ता अनुसार भारतीय पक्षले पनि निर्वाचनका बेला सीमानाबाट आपराधिक गतिविधि हुन नदिन सहयोग गर्ने बताएका छन् ।
रौतहटको २६ किलोमिटरको भूभाग भारतको बिहारसँग जोडिएको छ । सो क्षेत्रबाट आपराधिक समूह तथा साना हतियारहरु नेपाल भित्रिन सक्ने सम्भावना बढी रहेको छ । आधाभन्दा बढी मतदान केन्द्रहरु संवेदनशील रहेको रौतहटमा खुल्ला सीमानाले थप सुरक्षा चुनौती थपेको सुरक्षा समितिले बताएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना गरी झण्डै ७ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्