वर्ष २०७६: नेकपाका लागि नोकझोंकको वर्ष

केन्द्रीय समितिको बैठक ओली–प्रचण्डबीचको भित्रभित्रै नोंकझोंकमा बदलिंदा प्रचण्ड प्रभावी भएको अर्थमा बुझ्ने प्रवृत्तिले यतिबेला नेकपा आन्तरिक रुपमा विक्षिप्त छ भन्दा अन्यथा हुने छैन



२०७५ सालको शुरुवात तत्कालीन वाम गठबन्धनका लागि उत्साह र अत्यासिंदो वर्षका रुपमा उदाएको थियो । अन्तत : २०७४को दशैंका दिनले कोरेको मार्गचित्रले वामगठवन्धन नेकपामा परिवर्तन भयो । एमाले र माओवादी सिद्धिए । यसले देशभरका वाम कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई उद्धेलित बनायो । अब देशमा केही हुन्छ भन्ने आशा पलायो । सरकार दुई तिहाईको भयो । राज्यका तीनै तहमा नेकपाको बर्चस्व स्थापित भयो । तीन महिनामा पार्टी एकताको काम सक्ने भनिएको पूरा नहुँदा पनि कार्यकर्ता र नेताहरु बढी छिरलिएर सामाजिक सञ्जलमा पोखिएनन् । यो धेरै राम्रो पक्ष थियो ।
सरकारले साधारणतया विगतको विकृतपूर्ण विरासतको बाह्य पक्षलाई ट¥याकमा ल्यायो । कूटनीतिक क्षेत्रमा नेपाल एक्लिने खतराबाट छिमेकी दुवै मुलुक नेपालका लागि कवचका रुपमा उभिने सुन्दर तस्वीर देखा परेको थियो । यद्यपि सरकार गठनको पहिलो इनिङ नै यति झुर सावित भइसकेको थियो कि ती पात्रहरुको औचित्य नै सकिएको जस्ता थिए झण्डै आधाउधी । अन्ततः वर्ष २०७६ पूरा हुने बेलासम्म त्यो पुष्टि नै भयो ।
झण्डैं दश लाख पार्टी सदस्य भएको सत्तारुढ दलको मूल नेतृत्वमा अलिअलि आशंका र बढी विश्वासमा वितेको थियो । त्यसमा प्रधानमन्त्रीको कमजोर स्वास्थ्यले समेत सहयोगी भूमिका खेलेको थियो पार्टीका लागि तथापि विमारको असैह्य पीडा त प्रधानमन्त्रीमा छँदै थियो ।

वर्ष २०७६ को असारतिर पुग्ने बेलाबाट नेकपाको हाइकमाण्डदेखि रोडकमाण्डसम्म बालुवाटार र खुमलटारलाई केन्द्र बनाएर सामाजिक सञ्जालमा पोखिन थाले । माथिबाट जस्तो मूल फुट्यो शायद सडकमा त्यस्तै पानीको गन्ध पोखियो । यसमा कुनै अन्यथा नै मान्नु पर्ने थिएन । तर पार्टी एकता मूलतः दुई अध्यक्ष बाहेक धेरैका लागि रुचिकर भन्दा बढी बाध्यकारी घोषणा र त्यसको विरोध गर्नै नसक्ने तकजाको उपज थियो । यो तथ्यलाई ०७५ भरि र ०७६को आधाजसमयका गतिविधिले स्पष्ट गरेको छ ।
किन यस्तो भयो भन्ने सन्दर्भमा दुवै दलका पूर्व मान्यता तथा गुटीय चलखेलको स्मरण गर्नु बढी सान्दर्भिक हुन्छ । एमालेभित्र प्रतिस्पर्धाका नाममा स्थायी गुट बन्न पुगेका थिए । लाग्थ्यो ती एउटै पार्टीका समूह होइनन् कि विभिन्न फरक दलका मोर्चा हुन् । त्यसमध्ये १५ वर्ष पार्टी एकछत्र हाँकेका माधव नेपाल र त्यो बीचमा उल्लेखनीय भूमिकाबाट बञ्चित केपी शर्मा ओलीका बीचमा नोंकझोंको पराकाष्ठा नै थियो । त्यसको अन्तिम प्रहसन ०७१ को पार्टी महाधिवेशन बनेको प्रष्टै छ । अध्यक्षमा निर्वाचित भएका ओलीलाई पार्टीभित्र आफ्नो विरुद्धमा लागेका ०४८ देखिका बैरी बन्न पुगेका मित्रहरुलाई देखाइदिने अहँले नराम्रोसँग थिचेको थियो । स्थिति पनि कस्तो बन्यो भने ओली नेतृत्वमा आएपछि ओलीका लागि देशकै राजनीतिक स्थिति यति अनुकूल बन्दै गयो कि त्यसको शायद ओलीलाई पनि कल्पना थिएन । यसले ओलीलाई अरु बढी अहँवादी बनायो कि ? ओली अध्यक्ष भएपछि नयाँ संविधान बन्यो । ओली नै प्रधानमन्त्री भए । ओली निकटहरुले राज्यसत्ताका विभिन्न निकायमा वर्चस्व कायम गर्न थाले । ओलीलाई लाग्दै आएको कथित राष्ट्रघातीको अरोप पखाल्ने सुन्दर अवसर भारतले नै जुराइदियो नाकावन्दी लगाएर । त्यसले ओलीलाई झन् ठूलो माइलेज प्राप्त हुँदै जाँदा पार्टीभित्रका इतरहरु छायाँमा धकेलिए । त्यो दौडलाई ०७३ साउनमा प्रचण्डले भङ्ग गरिदिए । जब कि ओलीको पार्टी र सत्तामा बर्चस्व कायाम हुनुमा पनि पर्दा पछाडि र पर्दा अगाडिबाटै फरक दलमा रहेर पनि प्रचण्डको साथ थियो । अन्तत ः फेरि स्थानीय चुनावको हिसाब किताव र एकपटक पुनः पूरा ५ वर्ष प्रधानमन्त्री हुने भन्ने अर्जुन दृष्टिमा रहेका ओलीले प्रचण्डसँग नै हात मिलाएर अर्कातिर पल्टन थालेको पासा विना लाक्ष्यागृह, विना कसैको बनावास सहजै आफ्नै पक्षमा पारे पार्टीभित्रका इतर भनिएका सबैलाई नाच्न बाध्य बनाएर ।
उता माओवादीभित्र प्रचण्ड माओवादी, माओवादी प्रचण्डको अवस्था २०५७ देखि नै कायम थियो । त्यसमाथि बेलामौकामा हैरान पार्ने बाबुराम समेत बाहिरएपछि प्रचण्डतिर ठाडो आँखाले हेर्न सक्ने कुनै पक्ष थिएन । यद्यपि पार्टी खुम्चिइरहेको थियो । शान्ति प्रक्रिया अलपत्र पर्ने त्रास बढ्दै थियो । त्यही वाध्यतामा प्रचण्डले ओलीलाई पार्टी एकताको तहमा पुग्न बाध्य पारे खुशीसाथ ।
यस पृष्ठभूमिमा भएको एकतामा पूर्व माओवादी समूहबाट तुलनात्मक रुपले प्रचण्ड बाहेक कसैले अनावश्यक उछलकुद गरेको छैन । त्यसमाथि कृष्णबहादुर महरा नामक चौका प्रहार गर्न खोज्दा पञ्जा ल्याइदिने दावी गर्ने विकेट नराम्रोसँग गिरेपछि पूर्व माओवादीबाट त्यो विरासत समाहल्ने दुस्साहस सतहमा देखिएको छैन । यद्यपि त्यसको रिहर्सल र प्रयास भने जारी छ विभिन्न कोणवबाट प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषदको नौकामा बसेर ।


तर एमालेभित्रका ओली इतरका समूहहरुलाई एकता भएको ६ महिनापछिबाटै ओली विरुद्ध खेल्ने निकै ठूलो मैदान र स्ट्राइकरका रुपमा पूर्व माओवादी समूह र प्रचण्डलाई फेला पारे । तर पनि ०७५ साल वाम वैरीले त्यति बढी मेसो नपाउने गरी वित्यो । यद्यपि भित्रभित्रै खिचडी त पाकिइरहेको थियो । विशेष गरी पार्टी एकताका सन्दर्भमा प्रदेश र जिल्लाहरुको समायोजनका सन्दर्भमा प्रचण्ड ओलीतिर भन्दा बढी माधव नेपालले समातेको विधितिर ढल्केपछि ओली पक्षधरहरुमा माथिदेखि तलसम्म उल्कापात भयो । ओलीको पनि चित्त दुख्यो । कुनै बेला ओलीले प्रचण्डको चित्त टाल्न नसकेको किस्सा पार्टी एकतापछि ओलीतिर फर्केजस्तो आभास हुन्छ । यसमा प्रचण्ड कति सचेत छन्, थाह छैन ।
त्यसको उत्कर्षमा पूर्व एमालेभित्रका सबै समूहलाई कसरी ओलीको वरिपरि गोलवन्द गर्ने भन्ने पासामा काम हुन थाल्यो । त्यसको मोहरी बन्न पुगे वामदेव गौतम । ०७६ असारमा ओली सरकारका उपप्रधानमन्त्री नै कास्कीबाट चुनाव लड्ने, पार्टीको उपाध्यक्ष पनि बन्ने भन्ने प्रस्ताव लिएर गौतम कहाँ गए । त्यही बेला प्रम ओलीको प्रत्यारोपित मृगौलाले काम गर्न छाडेपछि दुई पटक ०७६ साउन र भदौमा सिंगापुर जानु प¥यो । गौतम ओलीको वासस्थान बनाइएको सिंगापुरको निवास मै पुगे सन्चो विसन्चोको चिन्ता देखाउने नाममा । त्यो बेला प्रचण्ड–गौतमको दोस्तीयारी टुट्यो झण्डै एक महिना । जबाफमा प्रचण्डले गौतम मार्फत नै व्याटिङ गर्न शुरु गरे । उत्सकर्षमा ०७६ मंसिरमा भएको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र गौतमलाई उपाध्यक्ष तथा ओलीलाई पूरा ५ वर्ष सरकार चलाउने निर्णय भयो । यसमा तीनैजनाको स्वार्थ मिलेको भएतापनि त्यो आन्तरिक नोकझोंकमा भएको निर्णय थियो । सरल अर्थमा एकले अर्कालाई दनक दिने र मजा लिने रुपमा भएको थियो भन्न पनि सकिन्छ ।
त्यो निर्णयले जनतामा उछालिएको सरकार अस्थिर छ भन्ने च्याप्टर क्लोज भयो । ०७४ को दशैंका दिन र ०७५ जेठ २ गते ओली र प्रचण्डबीच भएको सरकार र पार्टी सञ्चालन आलोपालोको कथा बन्द भयो औपचारिक रुपले । यसमा ५ वर्ष सरकार आफूले चलाउन पाउनु पर्ने भन्ने ओलीको र म यो ५ वर्ष सरकार होइन पार्टी हेर्न पाए हुन्छ भन्ने कुरामा दुवै जना पाइलट बीच
एकता भएको छ महिना नपुग्दै पुगेका थिए । पङिक्तकारले लेखेको अवतरण नामक पुस्तकमा त्यो गोप्य भनिएको सहमतिलाई ०७५ असोज २१ गते दुवै जनाले विमोचन गर्दै प्रशंशा गरेबाट स्पष्ट भइसकेको थियो । तर पार्टीको औपचारिक कमिटिबाट त्यो अध्यायको बन्द ०७६ मंसिरमा भएको हो ।
अर्कातिर प्रम ओली दोस्रो पटक मृगौला प्रत्यारोपणको निर्णयमा पुगेको र मृगौला प्रत्यारोपण नगर्र्दासम्म कम्तीमा दुई दिन अस्पताल गएर डायलोसिस् गरिरहनु पर्ने पीडादायक क्षणमा थिए ।
सचिवालयको कार्यविभाजनको निर्णयलगत्तै प्रचण्डको एकल अध्यक्षतामा भएको स्थायी समितिको बैठकको अन्तर्यले नेकपा नामक जेटमा भित्रभित्रै हावाहुण्डरी चल्न शुरु ग¥यो । उत्कर्षमा माघमा सम्पन्न ५ दिने केन्द्रीय समितिको बैठक ओली–प्रचण्डबीचको भित्रभित्रै नोंकझोंकमा बदलिंदा प्रचण्ड प्रभावी भएको अर्थमा बुझ्ने प्रवृत्तिले यतिबेला नेकपा आन्तरिक रुपमा विक्षिप्त छ भन्दा अन्यथा हुने छैन । केन्द्रीय समितिको बैठकले ओलीको चाहना विरुद्धका निर्णय ग¥यो । तर ओलीले सीधा सीधा प्रकट गरेनन् । त्यही नै यतिबेला ओलीको गम्भीर कमजोरी त होइन भन्ने प्रश्न उठेको छ । त्यस अघि नै पुस २३ गते कथित भैंसेपाटी गठबन्धनबाट ओली समूह प्रतिरक्षात्मक बनेको थियो भने स्वयं ओलीलाई गम्भीर आघात पु¥याएको थियो । त्यही उत्कर्षमा सभामुखको चयन भयो । जबाफमा माधव नेपालका शव्दमा सार्वजनिक सञ्चारमाध्यमबाट खबर सुन्नेगरी ओलीले कानुनमन्त्रीको नियुक्ति गरे । तपसिलका अनेकौं नियुक्ति र निर्णयबाट ओली इतरलाई झन एकगठ हुन बल पु¥यायो भन्दा अन्यथा हुने छैन । यी घटनाक्रम कतिपय संयोग र कतिपय नियोजित पक्कै थिए । तर प्रचण्ड कहाँनेर उभिन्छन् र ओलीले कसरी ग्रहण गर्दछन् भन्ने कुरा सर्वाधिक महत्वको विषय पक्कै हो ।


प्रचण्ड गठवन्धनले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा राष्ट्रिय सभामा मनोनित गर्ने सचिवालयबाट निर्णय गराएपछि ०७४ को दशैंका दिनदेखि सवैभन्दा बढी ओलीको मन फाट्यो प्रचण्डप्रति । यद्यपि त्यो निर्णयको अध्यक्षता स्वयं ओलीले गरेका थिए र त्यो निर्णय सर्वसम्मत थियो औपचारिक रुपमा । ओलीसँग रहेका भनिएका नेताहरुले समेत व्यक्तिगत तुष्टीकरणका लागि ओलीको चाहना विपरित मुन्टो हल्लाएपछि ओली झन् बढी मर्माहत भए । त्यही कारण राष्ट्रपतिबाट मनोनित हुने १ जना सदस्य अझै पनि रिक्त छ । संवैधानिक रुपमा भन्दा नेकपा सचिवालयले गरेको त्यो निर्णयले संविधानकै हुर्मत लिएको छ ।
त्यो बैठक लगत्तै ओलीले प्रचण्डलाई उत्तेजित पार्ने आधा दर्जन जति निर्णय गरेर दोस्रो मृगौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना भए । त्यतिबेलासम्म विश्वभर नोभल क्रोना भाइरस नामक महामारीको कहरको तुफान समेत उठिसकेको थियो । यद्यपि दक्षिण एशियामा त्यसको असर परेको थिएन । सफल मृगौला प्रत्यारोपण सहित झण्डै १२ दिनपछि ओली बालुवाटार फर्के । त्यो अवधिमा दुई पटक प्रम ओलीको स्वास्थ्य अवस्था जान्न अस्पताल जाने बाहके प्रचण्ड चुपचाप निवासमै बस्न रुचाए । यद्यपि प्रचण्डलाई उकासिरहने समूहको दबाब उनीमाथि लगातार जारी नै छँदैथियो । तर प्रचण्डले कुनै हलचल देखाएनन् । सम्भवत प्रचण्डको राजनीतिक जीवनमै त्यो अवधि सवैभन्दन बढी मौन कालखण्ड हो भन्दा पनि हुन्छ ।


प्रधानमन्त्री अस्पतालबाट बालुवाटार फर्किंदा क्रोना भाइरसका कारण विश्वका मुख्य देश लक्डाउनमा पुगिसकेका थिए । चैत ११ देखि त नेपाल नै लक्डाउनमा जान बाध्य भयो । यसले नेकपाको नौका पनि लक्डाउनमा पुग्यो । औपचारिकताका लागि यस बीचमा नेकपा सचिवालयका दुई वटा बैठक बसे । ती फगत दुनियाका लागि सत्तारुढ पार्टी क्रियाशील छ भन्ने भन्दा बढी केही थिएनन् । यद्यपि यही बीचमा प्रम ओली र अध्यक्ष प्रचण्डका बीचमा आफूहरुलाई चित्त दुखेको कुराको साटासाट भएको छ । मन माझामाझ हुन बाँकी छ । त्यो कसरी मन मान्झिछ भन्न समेत अप्ठेरो छ । तर जति मैले यी दुई जना पाइलटसँग संगत गर्ने अवसर पाएँ, त्यसका आधारमा भन्न सक्छु त्यो फाटेको मन र दुखेको चित्त प्रधानमन्त्री ओलीको अप्रेशनको घाउभन्दा छिटो निको हुनेछ । त्यो बेला फेरि अस्थिरतामा आफ्नो कथित भूमिका देखाउने प्रवृत्ति मुर्झाउने छ । त्यो बाहेक नेकपालागि कुनै विकल्प पनि त छैन ।
आशा छ प्रचण्डले ०५७ देखि प्रयोग गर्दै आएको शव्दावली निरन्तरतामा क्रमभङ्ग र नयाँ आधारमा नयाँ एकताका रुपमा नेकपा उत्रनुको विकल्प छैन । त्यसका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले समग्र विश्व राजनीतिमा राजनेताहरुले खेलेको र खेल्न सक्ने भूमिकाको गम्भीर रुपमा स्मरण गर्न आवश्यक छ । क्रोना भाइरस सिंगो विश्वको दुश्मन बनेका बेला ३० वर्षभन्दा बढी पार्टी प्रमुख र दुई पटक प्रधानमन्त्री बनेका विरलै सफल मानिने जनयुद्धका कमाण्डर प्रचण्ड र रोग र अपहेलनालाई हाँसेर पचाउँदै पार्टीको अध्यक्ष र दुुई पटक प्रधानमन्त्रीको कार्यकालमा रहेका तथा १४ वर्षे कठोर कारावासलाई हाँसीहाँसी पचाएका प्रधानमन्त्री ओलीले देश र पार्टीको लागि अब के गर्ने भन्नेमा लामो गलफत्तिमा गुजुल्टीएर देशलाई नै कसरी निराश पार्लान र ? यो पङ्क्तिकारको यी दुइ पाइलटसँगको संगतको आधारमा निकाल्न सक्ने निश्कर्ष हो । फेरि पनि निर्णय लिने र धुमिल वातावरणलाई चिर्ने जिम्मेवारी त फेरि पनि दुई पाइलटको नै हो । अन्तमा प्रधानमन्त्री ओलीले केही समय अगाडि भनेको बचन एक जंगलमा दो शेर रह सक्ते है भनेर प्रमाणित गरेर वचनको पक्का देखाउने जिम्मेवारी पनि त हो ।
तसर्थ नोंकझोंकमा वितेका ०७६ क्रोनाको कहरकै कारणले भएपनि नेकपाका लागि नयाँ वर्ष २०७७ नेकपा नामक नौक सहज अवतरण गरेर नयाँ मैदान तयार गर्ने वर्ष बनोस् । जसरी ०७२ को भूकम्पले यिनै दुई नेताको मथिङ्गललाई हल्लाइदिएर नयाँ संविधान बनेको थियो ठिक त्यसैगरी विश्वभरि आतंक फैलाएको क्रोना कहाली लाग्दो त्रासदीले ओली र प्रचण्डलाई मजबुत एकता र नेपालको भविष्यलाई अरु बढी सुन्दर बनाउने अवसरमा बदल्ने आशा गर्नु बाहेक अरु के पो गर्न सकिन्छ र ? आखिर हुने यही नै हो । अन्तमा नेकपाका दुई पाइलटसहित सबै देशभक्त तथा आम नेपाली जनतामा हार्दिक शुभकामना । नेपाली जनताले धेरै पटक धक्का खाए पनि अहिलेसम्म हारेका छैनन् । विश्वास छ ओली र प्रचण्डले नेपाललाई जितउने नै छन् । हराउने कल्पना पनि अपराध मानौं ।

    Comment Here!


सम्बन्धित समाचार

View All