नेपालमा कोरोनाभाइरस सङ्क्रमण कम देखिनुका पाँच सम्भावित कारण



विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेला नेपालमा भने यसको प्रकोप खासै देखिएको छैन। सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात एकान्तमा राखेर उपचार गरिदैँछ।

बुधवार साँझसम्मको विवरण अनुसार सङ्क्रमणको आशंकामा थप १ सय ३४ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ।

नेपालमा भेटिएका सङ्क्रमितमध्ये ८ जना विदेशबाट आएका छन् भने एकजना विदेशबाट आएका व्यक्तिकी आफन्त रहेकी छन्। नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूका लागि बन्देज नलगाएको कारण देखाउँदै कतिपयले नेपालमा थप सङ्क्रमित हुनसक्ने बताउने गरेका छन्।

त्यस्तो अनुमानलाई खण्डन गर्नेहरूले चाहिँ नेपालमा हालसम्म कुनै पनि एक स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिसहरू बिरामी भएको वा मृत्यु भएको नदेखिनुले त्यस्तो अनुमानलाई झूटो सावित गरिदिएको बताउछन्। विज्ञहरूले चाहिँ नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनु वा कम फैलिनुमा विभिन्न कारणहरूले भूमिका खेलेको हुनसक्ने बताएका छन्।

१. परीक्षण नै नहुनु

कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्। स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल २ हजार ३ सय ६६ नमुनाको परीक्षण गरिएको छ।

२. नेपालीको जीवनशैली

कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुनसक्ने तर्क गर्ने गरेका छन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा। शेरबहादुर पुनले दाबि गरे अनुसार “हामीले धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलनबाट रोकेको हुनसक्छ।”

३. नेपालीको प्रतिरक्षा प्रणाली ‘बलियो’हुनु

विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरसको फैलावट कम भएको हुनसक्ने बताउँछन्।डा। मरासिनी भन्छन्, “कतिपय रोगसँग लड्ने क्षमता जाति अनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।”

४. बीसीजी खोपको प्रभाव

क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ।

कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।

बीबीसी विश्व सेवाका अनुसार हालैको एउटा समिक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको देखाएको छ।

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु

विशेषगरि कम विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन मद्दत गर्ने खालका शहरी पूर्वाधारकै कमी हुनसक्ने पनि चिकित्सकहरूको तर्क छ।

विविसीबाट

    Comment Here!


सम्बन्धित समाचार

View All