बुटवल, चैत ५ ।
बुटवल उपमहानगरपालिकाले नोबेल कोरोना प्रभाव रोक्न पूर्वतयारीलाई तीब्रता दिएको छ । बुटवल उपमहानगरमा आज बसेको सरोकारवालाको बैठकले क्वारेन्टाइनका लागि पहिलो चरणमा बुटवलका चारवटा सामुदायिक विद्यालयका ४० वटा कोठालाई र एसइइ सकिएपछि थप ६० कोठासमेत थप गरेर एक सय कोठा व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसरी तयार पारिएका क्वारेन्टाइनका कोठाहरुको विशेषज्ञहरुले निरिक्षणसमेत गरिसकेको उपमहानगरले जनाएको छ ।
बुटवल उपमहानगरले आइसोलेशन सञ्चालन गर्नुपर्ने अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालसहित तोकिएका निजी अस्पतालहरुमा ३४ वटा बेड तम्तयारीमा राखिएको बैठकमा जानकारी गराएको थियो । । अस्थायी रुपमा आइसोलेशन सञ्चालन गर्नुपर्ने अवस्थामा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका भवनहरुलाईसमेत उपयोग गर्ने निर्णय गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी गराउनुभयो । बाईट
बैठकले सामुदायिक तथा निजी अस्पतालहरुमा व्यवस्थापन गरिएका आइसोलेशन बेडहरुमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर भइ वा सिफारिस भइ आएका विरामीहरुलाई मात्र भर्ना गर्ने निर्णय गरेको छ । त्यस्ता आठ वटा निजी अस्पतालहरुमा तयार पारिएका ३४ वटा बेडहरुको विवरण उपमहानगरले प्रादेशिक अस्पताललाई उपलव्ध गराउने छ ।
क्वारेन्टाइन सञ्चालन गर्नका लागि बुटवलका चारवटा सामुदायिक विद्यालयका उपयुक्त भवनका ४० वटा कोठालाई यहीँ चैत ७ गतेदेखि नै प्रयोगमा ल्याउन सकिने र परीक्षा सकिएपछि थप ६० कोठाको व्यवस्थापन गर्दै सोको विवरणसहितको जानकारी प्रदेश सरकारलाई गराउने निर्णय गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
उपमहानगरका प्रमुख शिवराज सुवेदीको अध्यक्षतमा बुधबार बसेको बैठकमा प्रदेश सरकरको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रादेशिक अस्पताल, सामुदायिक तथा निजी अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी र विशेषज्ञहरुको सहभागिता थियो । सोही बैठकमा सहभागी निजी क्षेत्र तथा व्यवसायिक संघसंस्था र प्रतिष्ठानका सञ्चालकहरुले समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्