काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुराकानी गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ।
तर उनलाई अडिओ टेप सार्वजनिक गरेकोमा नभई लेखा समितिका सांसदको चरित्र हत्या गर्ने गरी टीकाटिप्पणी गरेकोमा समितिले कारबाही गर्न पत्राचार गरेको हो।
नोट, पासपोर्ट र राजस्व स्टिकर लगायतका महत्वपूर्ण कागजपत्र छपाइका लागि आवश्यक सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।
सरकारले जर्मनी, फ्रान्स र स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदबारे छलफल गरे पनि अन्तिममा जर्मनी र फ्रान्सबारे प्रस्ताव अगाडि बढाउने तयारी गरेको थियो। तर मिश्रले लेखा समितिले जर्मनीको कम्पनीलाई ठेक्का दिनेगरी समितिका सदस्यहरूले सेटिङ गरेको दाबी गरेका थिए। मिश्रले गरेको टिप्पणीबारे लेखा समितिका सांसदहरूले आपत्ति जनाएका थिए।
कांग्रेस सांसद मिनेन्द्र रिजाल, नेकपाका सूर्य पाठक र समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले मिश्रलाई कारबाहीको माग गरेका थिए। मिश्र सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्ट समेत हुन्। मिश्रलाई यसअघि लेखा समितिले नै सेक्युरिटी प्रेसको विषयमा विज्ञका रूपमा डाकेर छलफल गरेको थियो।
त्यस्तै, लेखा समितिले फेसबुकमा सांसदहरूको फोटोसहित ४ अर्ब खान लागेको टिप्पणी गरेका प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको छ। ४ अर्ब खाएर जर्मन कम्पनीलाई दिने सांसदहरू उल्लेख गर्दै सांसदहरूको फोटो पोस्ट गरेका थिए।
प्रतिक्रिया दिनुहोस्