ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत


admin

काठमाडौं,  १४ माघ । प्रदेशसभा नं २ मा सहमतीय राजनीति अघि बढ्ने सकारात्मक सङ्केत बढेको छ । सरकार सञ्चालनकै लागि पनि कुनै एक दलको स्पष्ट बहुमत नरहेको प्रदेशसभामा दुईतिहाइ मत चाहिने प्रदेश राजधानी र नामकरणको विषयमा अब आम सहमति बन्ने सकारात्मक सङ्केत देखिएको हो ।

पाँच महिनाअघि प्रदेशसभा सचिवालयमा दर्ता भएर छलफल नै बढ्न नसकेको प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको संसदीय विशेष समितिले नयाँ सहमति बनाउन थालेपछि यहाँ सहमतीय राजनीति अघि बढ्ने सकारात्मक सङ्केत बढेको छ । समितिले प्रदेशको राजधानी जनकपुरधाम हुने सर्वसम्मत निर्णय प्रदेशसभामा पठाएपछि अब नाममा पनि सहमति हुने आस बढेको हो ।गत भदौ ५ गते प्रदेशको नाम र राजधानीबारे फरक–फरक प्रस्ताव दर्ता भएपछि त्यसमा सहमति खोज्न प्रदेशसभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले आइतबार राजधानी जनकपुरधाम रहने प्रस्ताव लान सर्वसम्मत निर्णय गरेको छ । समितिले राजधानीको सीमासमेत तोकेर निर्णय गरेपछि अब प्रदेशसभाले राजधानीबारे सर्वसम्मत निर्णय गर्ने सम्भावना बढेको महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले बताउनुभयो ।

“अब सहमतीय राजनीति अघि बढ्ने छ”, नेकपाकी नेतृसमेत रहनुभएकी थापाले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “सभामुख नेतृत्वको विभिन्न दलका प्रतिनिधिसम्मिलित संसदीय विशेष समितिले सर्वसम्मत निर्णय गरेपछि अब राजधानीको विषय टुङ्गो लाग्योभन्दा हुन्छ ।” राजधानीजस्तै नाममा पनि समितिले सर्वसम्मत निर्णय लिनसके प्रदेशसभाको ओज र विश्वास बढ्ने थापाको भनाइ छ । समितिले आइतबार गरेको निर्णयमा राजधानीको सीमा पूर्वपश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्र, उत्तरमा मिथिला नगरपालिका र दक्षिणमा धनुषा जिल्लाले छट्याउने नेपाल–भारत सीमा ९दशगजा० उल्लेख छ । यो सीमामा महोत्तरीको भूभाग पनि परेको छ । समितिले तोकेको सीमामा महोत्तरीका मटिहानी, जलेश्वर, बलवा, लोहारपट्टी र भङ्गाहा नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिका क्षेत्र परेपछि महोत्तरीवासी पनि उत्साहित भएका छन् ।

सभामुख यादव संयोजकत्वको समितिमा उपसभामुख उपमा देव, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, समाजवादी पार्टीका संसदीयदलका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव, यसै दलका संसदीय दलका उपनेता रामअशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र नेपाल सङ्घीय समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य सावित्रीदेबी साह सदस्य हुनुहुन्छ । त्यसैगरी यो समितिमा प्रदेशसभा सदस्य रामकुमार यादव, नरेश यादव र रानी शर्मा तिवारी पनि सदस्य रहनुभएको छ ।

समितिले राजधानीबारे सर्वसम्मत निर्णय गरेपछि अब प्रदेशको नामबारे यसैगरी सहमति खोजिनुपर्ने प्रदेशसभा सदस्यको राय छ । “राजधानीबारेको समितिको निर्णयले दलहरु दलीय खिचलो मात्र गर्छन् भन्ने आलोचकको भनाइलाई खण्डित गरेको छ”, प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसकी नेतृ मञ्जु यादवले भन्नुभयो, “नामबारे यस्तै सहमति खोजेर प्रदेशसभा सहमति र जनचासोका सवालको सम्बोधन गर्ने थलो हो भन्ने दृष्टान्त पनि दिन सक्नुपर्छ ।” नामबारे सहमति खोजिँदा भूगोल, भाषा, सांस्कृतिक वैभव, प्रागऐतिहासिक परिवेश र रितिथितिको सम्बोधन गरिनुपर्ने यादवको सुझाव छ ।

गत भदौ ५ गते प्रदेशसभा सचिवालयमा नाम र राजधानीबारे दर्ता भएका प्रस्तावले दलहरुका आ–आफ्ना अडान भन्ने सन्देश दिएको भए पनि समितिले राजधानीबारे सुझबुझसाथ निर्णय गरेको प्रदेशसभा सभामुख सरोजकुमार यादवको भनाइ छ । “हामीले क्रमशः सहमति पहिल्याउँदै जाने बाटो अपनाएका छौँ”, उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “राजधानीबारे टुङ्ग्यायौँ, अब प्रदेशको नामबारे सहमति खोज्न जुट्छौँ ।”

गत भदौ ५ गते प्रदेशमा सत्तासाझेदार समाजवादी पार्टी र राजपा नेपालले नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका थिए । जसमा प्रदेशको नाम ‘मधेश’ र राजधानी बृहत जनकपुर क्षेत्र समेटिएको जनकपुरधाम हुने प्रस्ताव गरिएको थियो । यसैभित्र सत्तासाझेदार दल ९समाजवादी पार्टी र राजपा नेपाल०का सात प्रदेशसभा सदस्यले राजधानीको हकमा वीरगञ्ज हुनुपर्ने फरक प्रस्ताव पेश गरेका थिए । त्यसैगरी नेपाली काँग्रेसले नाम ‘मिथिला–भोजपुरा’ र राजधानी अहिलेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्र हुनुपर्ने प्रस्ताव दर्ता गराएको थियो । काँग्रेसका पनि चार प्रदेशसभा सदस्यले भने प्रदेशको नाम ‘मध्यमधेश’ र राजधानी वीरगञ्ज हुनुपर्ने फरक प्रस्ताव दर्ता गराएका थिए । यता प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले प्रदेशको नाम ‘जानकी’ र राजधानी समग्र धनुषा जिल्ला समेटिनेगरी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएको थियो ।

नाम र राजधानीबारे यी फरक–फरक प्रस्ताव दर्ता भएपछि सरकार गठनका लागि मात्र पनि कुनै एक दलको स्पष्ट बहुमत नहुँदा यसबारे निर्णय गर्न चाहिने दुईतिहाइ बहुमत नजुट्ने आम अड्कलबाजी थियो । तर, यिनै प्रस्तावमा सहमति खोज्न गठन गरिएको संसदीय विशेष समितिले राजधानीबारे सहमति जुटाएपछि अब प्रदेशको नाममा पनि सहमति हुने आस बढाएको प्रदेशको राजनीतिक वृत्तमा नयाँ विश्वास बढाएको छ ।

“हो, दर्ता भएका प्रस्तावले यी राजनीतिक दलले सहमति गर्ने हैनन्, खिचलो बढ्यो भन्ने आम बुझाइ बनेको थियो”, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य तथा महोत्तरी इञ्चार्ज राजु खड्काले भन्नुभयो, “तर राजनीति सम्भावनाको क्षेत्र हो, आवश्यकताका आधारमा दलहरुबीच असम्भव ठानिएका सहमति पनि हुन्छन् भन्ने दृष्टान्त राजधानीबारेको सहमतिले दिएको छ ।” अब प्रदेशको नाममा खुलाखुलस्त छलफल बढाउँदै समितिले सहमति खोज्न केन्द्रित हुनुपर्ने खड्काको थप सुझाव छ ।

प्रदेशमा राजधानीबारे अब आसलाग्दो निर्णय अघि बढेपछि आमरुपमा सकारात्मक प्रतिक्रिया बढेका छन् । अब प्रदेशसभामा राजनीतिक दलका प्रतिनिधित्व सङ्ख्यालाई गनेर नभई जनचासोका विषयमा आम सहमतिको खोजी गरिनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन् । “राजधानीबारे बनेको सहमतिले हाम्रा दल सहमतीय राजनीति अघि बढाउन समर्थ छन् भन्ने सन्देश प्रवाहित भएको छ”, राजनीतिशास्त्रका ज्ञाता महोत्तरीको भङ्गाहा–३ का स्थायी बासिन्दा डा देवराज दाहालले भन्नुभयो, “यस्ता सहमतिले लोकतान्त्रिक पद्धतिबारे जनतामा विश्वास दह्रो बनाउन मद्दत गर्छ, प्रदेशको नाम र राजधानीबारे मात्र नभई आम जनचासोका विषयमा दलहरुले यस्तो सुझबुझ देखाउनु पर्छ ।”

जम्मा १०७ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपाका ३२, नेपाली काँग्रेसका १९ र सङ्घीय समाजवादी पार्टीका एक सदस्य छन् । त्यसैगरी प्रदेश सरकारमा सत्तासाझेदार समाजवादी पार्टीका ३० र अर्को सत्तासाझेदार दल राजपा नेपालका २५ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com