बुटवल, ८ पौष ।
बुटवल उप–महानगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन तथा सुकुम्बासीले भोगचलन गरेको जग्गाको तथ्याङक संकलनको काम सुरु भएको छ । उपमहानगरको वडा नम्बर–११ देविनगरबाट सुकुम्बासी तथा सार्वजनिक जग्गाको तथ्याङ्क संकलन सुरु भएको हो । नगरको प्रथम बैठकबाट पारित योजना अनुसार अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिले तथ्याङ्क संकलनको लागि नापी सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ ।
जग्गा नापजांच गर्ने कार्यको उदघाटन गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले पहिलो चरणमा वडा नम्बर–११ देविनगरको ८० विगाह जग्गाको तथ्याङ्क संकलन गरिने जानकारी दिनुभयो । जग्गाको तथ्याङ्क संकलनका लागि नगरले ११ लाख ९२ हजार बढी बजेट विनियोजन गरी बुटवलको क्रियसन एजुकेश्नल कन्स्ट्रक्सन् लिमिटेसँग सम्झौता गरिएको उहाले बताउनुभयो । तथ्याङ्क संकलनको मंगलबार औपचारिक रुपमा सुभारम्भ भएको घोषणा गर्दै उप–महानगरका नगर प्रमुख सुवेदीले सबैमा सहयोगको अपेक्षा गर्नुभयो । तथ्याङ्क संकलनलाई विवाद रहित र न्यायपूर्ण बनाउनका लागि सामाजिक संघ–संस्था, जनता तथा जनप्रतिनीधीहरुलाई समेत आग्रह गर्नुभयो ।
देविनगरको एमाले चोकबाट सुरु भएको पहिलो चरणको तथ्याङ्क संकलनको काम रङ्गशालासम्म हुने छ । नगरभित्र कूल १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेकोमा वडा नम्बर ११ देविनगरमा सबैभन्दा बढी ६ हजार ५ सय घर–धुरी सुकुम्बासी तथा अब्यवस्थित बसोबास गर्नेहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्