काठमाडौं २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले निर्वाचन आचारसंहिता विपरित नियुक्ति बढुवा र सुरुवा गरिरहेको भन्दै त्यस्ता नियुक्ति एकमुष्ट बदर गरिदिने चेतावनी दिएका छन् । बुधबार सांझ ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन मार्फत सरकारले निर्वाचन विरोधी क्रियाकलाप गरिरेहको आरोप लगाएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारका पालामा कांग्रेस समेत सहमत भएर गरेको बुढी गण्डकी जलविद्युत परियोजनाको अनुमति पत्र खारेज गर्ने निर्णय कसको इशारामा कसका लागि गरेको भन्दै ओलीले यो घटनाले नेपाली कांग्रेस जनविरोधी र राष्टविरोधी भएको थप पुष्टि गरेको बताए ।
रोल्पा, रुकुम, भोजपुर र संखुवासभामा भएका सांघातिक हमलामा सरकारको समेत संलग्नता रहेको हुनसक्ने प्रचण्डले गम्भीर आशंका गरे । उनले भने देउवाजी तपाईं गलत बाटो नहिंड्नुस ।
पत्रकार सम्मेलनमा निकै आक्रमक रुपमा प्रस्तुत भएका ओलीले देश विकास गर्ने कुनै एजेण्डा नभएपछि कांग्रेस बुढो रुख मुर्झाएजस्तो भएको बताए ।आजै ओली र प्रचण्ड गोरखाका ४ र लमजुंगको एउटा सभालाई संयुक्त रुपमा सम्वोधन गरेर आएका थिए ।
पत्रकार सम्मेलन प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्