बैतडी, २९ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी सरगर्मीले उच्च गति लिएको छ ।
पहिलोचरणअन्तर्गत बैतडीमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । एउटा निर्वाचन क्षेत्र भएको बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वर्तमान र पूर्व राज्यमन्त्री बीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ ।
नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द तथा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीबीच कडा प्रतिस्पर्धा रहेको छ । दुबै जनाले चुनावीसभा तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा राज्यमन्त्री चन्द तत्कालिन बैतडी निर्वाचन क्षेत्र नं २ बाट १२ हजार भन्दा बढी मत ल्याएर विजयी हुनुभएका थिए भने तत्कालीन निर्वाचन क्षेत्र नं १ वाट नेकपा एमालेका नेता दामोदर भण्डारीले ११ हजार मत ल्याएर विजयी भएका थिए । चन्दले आफ्ना निकटतम् प्रतिस्पर्धी भन्दा दोब्बर मत ल्याएर र भण्डारीले ९०० मत बढी ल्याएर विजयी भएका थिए । तर आसन्न निर्वाचनमा चुनावी समीकरण फेरिएकाले जितको अनुमान लगाउन सजिलो छैन् ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनावी सभालाई तिब्र बनाउँदै जनमत आ–आफ्नो पक्षमा रहेकोे दाबी गरिरहेका छन् । नेपाली काँग्रेस बैतडीका पार्टी सभापति नरेन्द्र थापाले सडक, बिजुली, खानेपानीलगायत विकासका पूर्वाधार र पञ्चेश्वर परियोेजना निर्माणको मुख्य एजेण्डा बोकेर लोकतान्त्रिक गठबन्धन मतदाता समक्ष पुगिरहेका छन् ।
‘हामीले जिल्लाभर प्रचारप्रसारलाई तीव्रता दिएका छौं’ सभापति थापाले भन्नुभयो– ‘बैतडीको जनमत हामीभन्दा बाहिर जादैन । यहाँको प्रदेशसभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेशबहादुर चन्दलाई उम्मेदवार बनाएपछि नेपाली काँग्रेसभित्र पार्टीको टिकट वितरणप्रति सन्तुष्टी व्यवस्थापन हुन सकेको छैन ।
काँगे्रसले पार्टीभित्रको आन्तरिक द्वन्द व्यवस्थापन गर्न नसके विरासत जोगाउन कडा मेहनत गर्नुपर्ने काँग्रेस नेता नै स्वीकार गर्छन् । वाणिज्य राज्यमन्त्री एवं काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरबहादुर चन्दले बैतडीलाई काँग्रेसको गढको संज्ञा दिनुभयो । उहाँले लोकतन्त्रवादीको जनसंंख्या बढी रहेकाले जितका लागि सहज हुने दाबी गर्नुभयो । ‘लोकतन्त्र मुलुकका लागि आवश्यक रहेकाले पनि हामी एकजुट भएर निर्वाचनमा होमिएका छौं,’ उहाँले भन्नुभयो ।
लोकतान्त्रिक गठबन्धनले जिल्लाका दुईवटै प्रदेशसभा सदस्य जित्नेमा ढुक्क देखिन्छ । राप्रपाबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार गणेशबहादुर चन्दले निर्वाचन जित्नेमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले आफू निर्माण व्यवसायी समेत भएको बताउँदै गाउँघरका मतदाताका समस्याबारे आफू जानकार रहेको बताउनुभयो ।‘यो मेरो पेशाको अनुभव मतदातासम्म पु¥याउने अवसर पनि हो ।’ उहाँले भन्नुभयो– “मेरो उम्मेदवारीले मतदातामा उत्साह छाएको छ”
त्यसैगरी नेकपा एमाले र (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनलाई चुनावी माहौल आफ्नो पक्षमा पार्न त्यति सहज देखिदैन् । गत असारमा सम्पन्न स्थानीय तहको मतपरिणामलाई आधार मानेर आसन्न निर्वाचन जित्ने दाबी गरिरहेका वाम गठबन्धनभित्र पनि आन्तरिक असन्तुष्टि विद्यमान छन् ।
वाम गठबन्धनवाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले वाम गठबन्धनले कम्युनिष्टमा उत्साह छाएको बताउँदै लोकतान्त्रिक गठबन्धनभन्दा आफू अगाडि रहेको दाबी गर्नुभयो । ‘आफू राज्यमन्त्री हँुदा जिल्लामा गरेको विकासले पनि मतदाताको माया पाइरहेको छु’ चुनावी घरदैलोमा रहेका उहाँले भन्नुभयो– “पूर्वाधार विकास र शिक्षा स्वास्थ्य रोजगारीका विषयमा मतदाताले ध्यान दिन आग्रह गरिरहेका छन्” ।
वाम गठबन्धनबाट बैतडी प्रदेशसभा ‘क’ बाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका संयोजक प्रेमप्रकाश भट्टले मुलुकमा वाम घटकको आवश्यकता रहेको बताउँदै बैतडीको विकासका लागि वाम शक्ति निर्वाचनमा विजयी हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
बैतडीमा काँग्रेसबाट प्रदेश ‘क’ मा हरिमोहन भण्डारी र ‘ख’ मा राप्रपाका गणेशबहादुर चन्द, वाम गठबन्धनबाट प्रदेश ‘क’ मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र ‘ख’ मा एमालेका लीलाधर भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।
कूल एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा १२० मतदानस्थल छन् ।
राप्रपाका प्रदेश नं ७ का एक्ला उम्मेदवार चन्द
मुलुकको राजनीति दुई भागमा धुव्रीकरण भएर आसन्न निर्वाचनमा होमिएका बेला लोकतान्त्रिक गठबन्धनबाट भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नं. ७ का नौ वटा जिल्लामा एक स्थानमा मात्र उम्मेदवारी दिएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट बैतडी प्रदेश नं ‘ख’ मा प्रत्यक्षतर्फ राप्रपाका गणेशबहादुर चन्द एक्ला उम्मेदवार छन् । प्रदेश नं. ७ का अन्य जिल्लामा मनोनयनका दिन राप्रपाका नेताले उम्मेदवारी दिए पनि अन्तिममा काँग्रेसलाई सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
राप्रपाका केन्द्रीय सदस्य हेमबाबु लेखकले प्रदेश नंं ७ को बैतडीमा मात्रै पार्टीले गठबन्धनबाट उम्मेदवारी पाएको बताउनुभयो । उहाँले प्रदेश नंं ७ मा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने बताउँदै समानुपातिकमा भने पार्टीका आफ्नै उम्मेदवार रहेको बताउनुभयो ।
प्रतिनिधिसभाको समानुपातिबाट राप्रपाका महामन्त्री एवं आपूर्तिमन्त्री जयन्तबहादुर चन्द बैतडीबाट उम्मेदवार रहेका छन ।
प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार लिलाधर भट्ट निर्वाचन प्रचार प्रसारका क्रममा स्थानीय विकास निर्माणका मुद्दा प्रमुखताका साथ उठाएको बताउनुहुन्छ । उहाँले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश राप्रपाका जिल्लास्तरीय नेता अहिले एमालेमा प्रवेश गरेका कारण आफ्नो जित पक्का भएको बताउनुभयो ।
“ठूलो संख्यामा राप्रपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्, चुनाव वाम गठबन्धनले जित्छ,” बैतडी एमाले पार्टी सचिव समेत रहनुभएका भट्टले भन्नुुभयो । स्थानीय तह निर्वाचनमा काँग्रेस र राप्रपाको भन्दा वाम गठबन्धनको सात हजार मत बढी भएकाले जित्ने प्रमुख आधार बनेको उहाँको भनाइ छ । भट्ट पहिलो पटक उम्मेदवार बन्नुभएको हो । उहाँ अहिले जिल्लाको दुर्गाभवानी क्षेत्रमा प्रचार प्रसारमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्