काठमाडौं, १ पुस । राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयबाट भद्रकाली मन्दिर निस्कने सडकमा पेटी एवं ड्रेन निर्माण जारी रहेको छ ।
मुलुकको प्रशासनिकस्थल सिंहदरबारको प्रदेशद्वारमा अवस्थित सडक खण्ड सडक डिभिजन कार्यालय काठमाडौँले हालै कालोपत्र गरेको थियो । यहाँ रहेका विभिन्न कार्यालयले सहयोग जुटाएर ड्रेन तथा पैदलमार्गका लागि पेटी बनाउने काम अगाडि वढाएका थिए । ड्रेनको व्यवस्था नहुँदा वर्षाद्का समयमा यहाँका कार्यालय जलमग्न हुने गरेका थिए । सवारी र पैदल हिँड्नसमेत समस्या रहिआएको थियो
ड्रेन र पैदलमार्ग निर्माणमा रु ७० लाख ३१ हजार लाग्ने प्रारम्भिक लागत तयार भएको नेपाल टेलिकमकी सहायक सूचना अधिकारी सीता खनालले जानकारी दिनुभयो । उहाँले भद्रकाली प्लाजा क्षेत्रमा रहेका सबै कार्यालयले ती कार्यका लागि सहयोग जुटाउने भनिए पनि नजुटेसम्म आवश्यक बजेट टेलिकमले नै उपलब्ध गराएको बताउनुभयो । यसअघि यो सडकलाई युनियन नेटवर्क इन्टरनेशनल ९युएनआई० मार्ग नामाकरण गरी कालोपत्र, बगैँचा निर्माणका लागि पहल गरिएको थियो । कर्मचारीको अन्तर्राष्ट्रिय सङ्गठन रुपमा रहेको युएनआईले केही बजेट राखी बाँकी काठमाडौँ महानगरपालिकाको समेत सहयोगमा ती काम अघि बढाइए पनि विविध कारणले बीचमै अल्झिएको थियो ।
हाल सडक ६.५ मिटर चौडाइ, एक मिटर पेटी र एक मिटर ढल निर्माण गरिँदैछ । सिंहदरबार भद्रकाली सडक नामाकरण गरिएको यो सडक ४०० मिटर लम्बाइ कालोपत्र गरिएको हो । अन्यत्रै विनियोजन गरिएको बजेटबाट यो सडक निर्माण गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाशकुमार श्रेष्ठले बताउनुभयो । पेटी बनाएपछि इच्छुमती टुकुचा माथिको पुल क्षेत्रमा के गर्ने भन्ने समस्या रहेको जनाइएको छ । पुलसमेत जीर्ण भइसकेकाले नयाँ हाल्न सडक डिभिजन कार्यालय काठमाडौँसँग माग गरिएको छ । सडकको तल्लो भागमा पेटी निर्माण गरिए पनि माथिल्लो भागमा युएनआईले बगैँचा बनाउन सक्ने गरी ठाउँ छोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्