
काठमाडौँ,२३ मंसिर । युएईको सारजामा कार्यरत चितवन आँपटारीकी सुकमाया टमाटा बुधवार काम सकेर किनमेल गर्न बजार निस्किइन् । साथीहरुसँग नजिकैको बजारमा दैनिक उपभोग्य सामान लिन गएकी उनी त्यहीँ अचानक बेहोस भएर लडिन् । साथीहरुले उठाएर उनलाई कोठासम्म ल्याए । कोठा ल्याउने क्रममा लिफ्टमा पुनः अचेत बनेपछि साथीहरुले नै अजमानस्थित खलिफा अस्पताल पुर्याए । सुकमायाको उपचारमा चिकित्सकले सक्दो प्रयास गरे । तर डिसेम्बर ५ तारिख बिहान चिकित्सकले उनलाई मृत घोषणा गरे । चिकित्सकका अनुसार अस्पताल ल्याउँदै गर्दा उनलाई बचाउन सकिने आशा न्यून थियो । मुटुमा गम्भीर समस्याले थलिएकी सुकमायाको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको भनाइ छ ।
युएईमै कार्यरत उनका भाइ कमल टमाटाले बिहीवार साँझ खबर पाए । बिहीवार बिहान नेपाल जान तयार भएकी दिदी भम्भीर अवस्थामा अस्पतालमा भएको खबरले निस्शब्द थिए ।
छिमेकी दाइ मनोज विकको साथमा उनी अस्पतालमा पुगे । बिहीवार साँझ घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफिनमा देख्ने साहस कमलसँग थिएन। आँखा भरी आँसु पार्दै कमलले सुनाए, ‘घर गएर उपचार गराउने भनेको थियो । तर हामीलाई छोडेर जानुभयो । अब दिदीको कहिल्यै उपचार नहुने भयो।’
२३ वर्षीया कमलाको घरमा श्रीमान र ४ वर्षकी छोरी छिन् । श्रीमान नेपालमै प्लम्बरको काम गर्छन् । २ वर्षअघि उनी रोजगारीका लागि युएई आएकी थिइन् । सारजास्थित एक विद्यालयमा हाउसकिपिङ्गको काम गर्थिन् । एक महिनाअघि मात्र घर गएर आएकी थिइन्। तिहारमा भाइलाई यतै टीका लगाइदिएकी उनले मुटुमा केही समस्या बताएकी थिइन् । कमलका अनुसार यहीँ आएर चेकजाँच गर्दा मुटुमा समस्या रहेको र चाडैँ उपचार गराउन चिकित्सकले सुझाएका थिए । युएईमा उपचार गर्दा धेरै खर्च लाग्ने भएकाले उपचारका लागि सुकमाया डिसेम्बर ५ तारिख ९बिहीवार० नेपाल फर्कने तय भएको थियो । तर त्यही दिन नै सुकमाया कहिल्यै नफर्कने गरी युएईमै अस्ताइन् । पोस्टमार्टमपछि उनको शव अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । उनले पाउने सेवासुविधा कार्यरत कम्पनीले उपल्बध गराउने जनाएको छ ।
आवश्यक कागजात पुरा गरेर शव नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको उनका भाइ कमलले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्